+
+

४९ लाखमा कार किनेपछि प्रकाश भन्छन् : कलाकार भएर पनि कार चढ्न सकिन्छ है

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १५:४७

नेपाली सांगीतिक क्षेत्र फराकिलो बनिरहेको छ । कुनै समय गीत संगीतमा लागेर सर्जकले जीवन चलाउन नै मुश्किल पर्छ भन्ने कुरा खुबै सुनिन्थ्यो । तर, आज समय बदलिएको छ । गीत संगीतमा मिहिनेत गर्न सक्ने हो भने सर्जकले जीवनलाई सहज रुपमा जिउन सक्ने अवस्था बनेको छ ।

पछिल्लो समयमा गीत संगीतमा राम्रो क्रेज बनाएका कलाकारहरुको फेरिदो जीवनशैलीले पनि यो कुराको पुष्टि गर्छ । यो क्षेत्रमा नाम चलेका र दर्शकले रुचाएका सर्जकहरुका लागि काठमाडौंमा घर र गाडी अब सपना बन्न छाडेको छ ।

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक प्रकाश सपुतले २ बर्ष अगाडि काठमाडौंमा घर किने । आधा दर्जन भन्दा बढी गीतले लोकप्रियता कमाएपछि प्रकाशलाई स्टेज कार्यक्रमदेखि म्यूजिक भिडियोमा भ्याइ नभ्याइ छ ।

उनै, प्रकाशले हालै हुन्डाइको नयाँ कार किनेका छन् । सेतो रंगको ‘क्रेटा’ कार किनेका प्रकाशले लेखेका छन्, ‘सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ । कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।’ उनले यो कारको मूल्य ४९ लाख रुपैयाँ रहेको अनलाइनखबरसँग बताए ।

उनले आफूलाई देखावटी कुरामा विश्वास नभए पनि कलाकारले आफ्नै मिहिनेतले प्रगति गरेको विषयले कतिपय मानिसहरुलाई प्रेरणा पनि मिल्ने बताए ।

‘यस्ता कुराहरुले कतिपय मानिसहरुलाई दुःखी पनि तुल्याउन सक्छ । तर त्यही कुराले कतिपय मानिसहरुलाई प्रेरणा पनि मिल्न सक्छ’ प्रकाशले अनलाइनखबरसँग भने, ‘त्यो मान्छे पनि हामीजस्तै हो । हाम्रै स्तर, हाम्रै धरातलबाट गएको हो । त्यसले गर्न सक्छ भने हामी पनि गर्न सक्छौं भन्ने खालको प्रेरणा पनि मिल्न सक्छ । यसकारण मैले कार किनेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेको हुँ ।’

बाग्लुङका प्रकाश काठमाडौं आएसँगै लामो समय सार्वजनिक यातायातमा यात्रा गरे । दोहोरी साँझमा काम गरेको २–३ वर्षपछि ‘सेकेन्ड ह्याण्ड’ स्कुटर किने । केही वर्ष स्कुटर चढेपछि उनले ‘सेकेन्ड ह्याण्ड’ मोटरसाइकल किनेका थिए । यसअघि उनी सोही मोटरसाइकलमा यात्रा गर्दै आएका थिए ।

प्रकाशले आफ्नो सफलतालाई मूल्यांकन गर्दा संघर्षलाई पनि सँगै मूल्यांकन गरिदिए हुन्थ्यो भन्ने चाहन्छन् ।

प्रकाश लोकदोहोरीमा चलेका कलाकार हुन् । ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’ हुँदै ‘यो देश मेरो पनि होइन र ?’ सम्म आइपुग्दा सांगीतिक क्षेत्रमा उनले आफ्नो गर्बिलो चिनारी बनाइसकेका छन् । उनी ‘परदेशी २’ चलचित्रमार्फत अभिनेताका रुपमा दर्शकमाझ आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?