Comments Add Comment

पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू

२२ असार, चितवन । राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ ।

चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका छन् ।

मंगलबार बेलुका ७ बजेदेखि बुधबार बेलुका साढे ७ बजेसम्म कर्फ्यू कायम रहने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताएका छन् । कर्फ्यू लागेका बेला सडकमा लामो दूरीका सवारी साधन चल्न दिने तर मानिसहरु आवतजावत र भेला हुन रोक लगाइएको छ ।

भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा मंगलबार पनि प्रहरीसँग झडप भएको थियो ।

स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गरेका थिए । प्रहरीले राजमार्ग खुलाउन खोज्दा भएको झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उनले भिड नियन्त्रणका लागि गएका डीएसपीसमेत घाइते भएको बताए ।

राजमार्ग क्षेत्रमा प्रदर्शन बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले कर्फ्यूको सहारा लिएको हो ।

प्रर्दशनकारीले पोष्टमार्टम रिपोर्टमा तलमाथि नगर्न चेतावनी दिदै घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन् । युवाहरुको एक समूहले चौबिसकोठी चोकमा भ्रष्ट प्रशासन चाहिदैन, शान्ति सुरक्षा कायम गर, सुजिताको अत्मालाई शान्ति दे, हामीलाई न्याय दे भन्दै नारावाजी गरेका छन् ।

सो क्रममा केहीबेर प्रहरी र स्थानीयबीच झडप भएको छ । गत असार ११ गते घरबाट साथीको घरमा हिँडेकी सुजिताको आइतबार दिउँसो ११ दिनपछि सामुदायिक वनमा शव फेला परेको थियो ।

उनको अपहरणपछि हत्या भएको परिवार र स्थानीयको भनाइ छ । उनको शव पोष्टमार्टमका लागि काठमाडौं लगिएको छ । घटनास्थल नजिकै मंगलबार सुजिताले प्रयोग गर्ने मोवाइल पनि भेटिएको छ । मोवाइलमा सिमकार्ड भने नभएको प्रहरीको भनाइ छ ।

हेर्नुहोस् कर्फ्यू आदेश

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment