Comments Add Comment

विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध ३ लाख ९३ हजारको भ्रष्टाचार मुद्दा

२३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको भिल्मीस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका तत्कालीन दुई जना अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

नेपाल सरकारबाट दिइएको विभिन्न शीर्षकको अनुदान रकमलाई आफूखुशी खर्च गरेको अभियोगमा विद्यालयका प्रधानाध्यापक दिनेशकुमार विश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरु शकिल मियाँ र  नरेन्द्र कुर्मीविरुद्ध कुल ३ लाख ९३ हजार ७५० रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्म तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट छात्रवृत्ति, पाठ्यपुस्तक र दिवाखाजा शीर्षकमा निकासा भई खर्च हुन नसकेकोमध्ये प्रधानाध्यापक विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष मियाँको कार्यकालमा ३ लाख ७१ हजार ७०१ रुपैयाँ तथा विश्वकर्मा र कुर्मीको कार्यकालमा २२ हजार १४९ रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा सो बराबरको असुल हुने गरी मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

तीनैजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायाणप्रसाद रिसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment