Comments Add Comment

वीरगञ्जलाई स्मार्ट सिटी बनाउने सपना पूरा भएन : महानगर प्रमुख सरावगी

२३ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले वीरगञ्जलाई स्मार्ट सिटी बनाउने सपना पूरा गर्न नसकेको बताएका छन् । महानगरमा १६ वटा वडा ग्रामीण क्षेत्रमा रहेको र त्यहाँको विकास नगरी स्मार्ट सिटीको योजना पूरा नहुने उनले बताए ।

वीरगञ्ज–२९ बसडिल्वामा बुधबार महानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा सरावगीले भने, ‘चार वर्षको कार्यकालमा ग्रामीण भेगका वडामा पूर्वाधार विकासमा साधन स्रोतले भ्याएसम्म काम गरें । कमजोर पूर्वाधारलाई स्तरोन्नतिमा समय लागेकाले ती वडाहरुलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने अवधारणा भने पूरा हुन सकेन ।’

उनले बाँकी समयमा पनि ग्रामीण भेगका वडामा प्राथमिकताका साथ पूर्वाधारहरु बनाइने बताए ।

यस्तै बाढी र डुबानले वर्षेनी दुःख दिंदै आएको भेडाहा खोलामा स्थायी पक्की बाँध लगाउने प्रतिबद्धता पनि उनले जनाए । त्यसका लागि दुई–तीन दिनमै टेण्डर प्रक्रिया शुरु हुने उनको भनाई छ । बाँध बनाउनका लागि महानगरले आर्थिक वर्ष २०७८/७९ को बजेटमा १० करोड ३८ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

सार्वजनिक सुनुवाईमा सहभागी स्थानीयले चुनावमा गरेको वाचा पूरा गर्न नसकेको, वडामा स्वास्थ्य र शिक्षाको अवस्था दयनीय रहेको, वडामा कालोपत्रे सडक नै नरहेको गुनासो गरेका थिए ।

२९ नम्बर वडाका तीनवटै गाउँमा वर्षाका कारण सम्पर्क विच्छेद भएको उनीहरुले सुनाए । वडा कार्यालयबाटै मालपोत, कर तिर्ने व्यवस्था मिलाइदिन, सार्वजनिक शौचालय, नाला निर्माण, व्यवस्थित सरसफाइको व्यवस्था मिलाइदिन, नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा शिक्षक दरबन्दी थप गरिदिन पनि उनीहरुले आग्रह गरे । भेडाहा खोलाबाट वर्षेनी कटान र डुबानको समस्या झेल्दै आएकाले त्यसको दिगो समाधान गर्न पनि स्थानीइले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment