
२४ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले क्रस बोर्डरको मुद्दा व्यवसायसँग जोडिएको बताएका छन् । उनले गैरकानूनी कारोबारको लागत र कानूनी कारोबारको लागत बराबर नहुँदासम्म तस्करी नरोकिने बताए ।
मानव अधिकार पत्रकार संघले वीरगञ्जमा आयोजना गरेको क्रस बोर्डरका मुद्दामा छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘नेपाल भारतको बोर्डर डेढ वर्षदेखि बन्द छ, दुवै देशका नागरिक समस्यामा छन् । कोरोना बहाना हो, किन बन्द छ ? न नेपाल सरकारलाई थाहा छ, न भारत सरकारलाई । आफन्तको विवाह कर्ममा त जान पाएनन् तर मर्दापर्दा समेत जान पाएका छैनन् ।’
मानव तस्करी, लागूऔषध तस्करी वा सामानको तस्करी दुवै देशका नागरिक मिलेर मात्रै नियन्त्रण हुने सरावगीले बताए । विभिन्न बहानामा नेपाल र भारतको सीमावर्ती क्षेत्रमा जनस्तरको सम्बन्ध बिगार्ने प्रयास गरिए पनि सफल नभएको र नहुने उनको भनाइ छ ।
संघ सरकारमा रहेकाहरूमा रहेको राणाकालीन सोचका कारण महानगरका जनतालाई बचाउन आफैं खोप ल्याउँछु भन्दा ल्याउन नदिएको, विद्यालय सञ्चालन गर्न नदिएको उनले बताए ।
कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक वीरेन्द्र साहले सीमा क्षेत्रमा रोटीबेटीबीचको सम्बन्ध राम्रो भए पनि राज्यबीच राम्रो सम्बन्ध नहुँदा समस्यामा पर्ने गरेको बताए ।
‘दुवै देशमा नागरिकताको विषयमा समस्या छ । यता भारतीय छोरीले जहिले नेपाली नागरिकता पाउँछ, भारतमा नेपाली छोरीले नागरिकता पाउनुपर्छ । समानता हुनुपर्छ भन्ने माग हाम्रो हुन्छ,’ उनले भने ।
भारतीय पत्रकार दीपक अग्निरथले पछिल्ला दिनमा नेपाल भारतबीच हुने विवाहमा कमी आउनुले पनि जनस्तरको सम्बन्धमा समस्या हुन थालेको बताए । प्रभात खबरका पत्रकार मनोजकुमार गुप्ताले कुनै पनि बहानामा पौराणिक सम्बन्धलाई बिगार्न नहुनेमा जोड दिए ।
प्रतिक्रिया 4