
२४ असार, काठमाडौं । रुसले उत्तर कोरियालाई पुनः कोरोना खोप दिने प्रस्ताव गरेको छ । उत्तर कोरियामा कडा लकडाउनको कारण भोकमरीको समस्या देखिन थालेको समाचार आइरहेका बेला रुसले यस्तो प्रस्ताव गरेको हो ।
रुसमा विदेशमन्त्री सेर्गेइ लाभरोभले उत्तर कोरियालाई रुसले धेरैपटक खोप दिने प्रस्ताव गरेको बताएका हुन् । उत्तर कोरियालाई यसअघि नै सबैले निकै कडा किसिमको प्रतिबन्धको सामना गर्न नसक्ने बताएको उल्लेख गरेका छन् । यसअघि उत्तर कोरियाले धेरै मुलुकले गरेको कोरोना खोप र सहयोगलाई अस्वीकार गर्दै आएको छ ।
उत्तर कोरियाले कोरोना संक्रमण नियन्त्रणको लागि सीमा बन्द गर्दै आएको छ । यद्यपि सीमा बन्द गर्दा त्यसको असर उसको चीनसँगको व्यापारमा परेको छ । उत्तर कोरिया मुलुकमा खाद्यान्न, मल र इन्धनको लागि चीनसँग निर्भर छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो मुलुकले अहिले खाद्यान्न संकटको सामना गर्दै आएको बताएका छन् । उनले अहिले उत्तर कोरियाको अवस्था तनावग्रस्त रहेको बताएका छन् । किम जोङ उनले संकटको कारण अहिलेसम्मकै खराब अवस्था आउन सक्ने बताएका थिए ।
उत्तर कोरियामाथि लगाइएको अन्तर्राष्ट्रिय व्यापार प्रतिबन्धले पनि खाद्यान्न आपूर्तिमा समस्या उत्पन्न भएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले आगामी महिनाको सुरुआतसम्ममा उत्तर कोरियामा ठूलो खाद्यान्न संकट आउन सक्ने बताएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4