Comments Add Comment

निरीक्षणका लागि नेपाल-चीन सीमाको लाप्चामा पुगे कर्णालीका मुख्यमन्त्री

२७ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोलीले उत्तर छिमेकी मुलुक चीनसँगको सीमा क्षेत्रको अनुगमन गरेको छ ।

मुख्यमन्त्रीसहितको एक सरकारी टोलीले शनिबार चीनसँगको सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका-६ लाप्चा (लोलुङजोङ) क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।

लोलुङजोङ विवादित क्षेत्र हो । गत असोजमा चीनले लोलुङजोङ क्षेत्रमा केही भवनहरु बनाएपछि सीमा मिचिएको भन्दै विवादमा तानिएको थियो ।

ढिलै भए पनि प्रदेश सरकारको तर्फबाट आफ्नो भूमिको रक्षार्थ पहल शुरू भएको सो क्षेत्रको स्थलगत निरीक्षण गरेका काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही बताउँछन् ।

‘अहिलेसम्म त यो मुद्दा केवल हुम्लावासीको मात्रै देखिन्थ्यो, अब प्रदेश सरकारले पनि चासो दिएको छ, बिस्तारै संघीय सरकार र सिंगो नेपालीको चासोको विषय बन्ने छ,’ नेता शाहीले भने ।

सोही क्षेत्रका जनप्रतिनिधिसमेत रहेका नेता शाहीले यस अघि पनि चीनले नेपाली भूमि मिचेको दाबी गर्दै आएका थिए । शनिबारको स्थलगत निरीक्षण पश्चात पनि नेपाल-चीन दुवैको तर्फबाट सीमामा तलमाथि भएको देखिएको बताए ।

‘स्थलगत निरीक्षणका क्रममा कतै चिनियाँ भूमि हाम्रोतिर त कतै हाम्रो भूमि चीनतर्फ परेको देखियो, सिमा स्तम्भ छलमाथि परेका छन्,’ उनले भने । प्रदेश सरकारले पनि उक्त समस्याबारे समाधानका लागि संघीय सरकारलाई सिफारिस गर्नुपर्ने नेता शाही भनाइ छ ।

उनले थपे, ‘गत वर्ष यो क्षेत्र विवाद बन्दा मैले मुख्यमन्त्री ज्यूलाई ज्ञापनपत्र बुझाएको थिएँ, ज्ञापन पत्रपछि सरकारको ध्यानाकर्षण भएर मुख्यमन्त्रीसहितको टोलीले स्थालगत निरीक्षण गरेको हो ।’

मुख्यमन्त्रीसहित कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र पूर्व भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीसहितको टोली हेलिकोप्टरबाट लोलुङजोङ पुगेको थियो ।

प्रदेश सरकारको तर्फबाट सीमा नाकाको अध्ययन तथा अनुगमन लागि मुख्यमन्त्रीसहितको टोली शुक्रबार नै हुम्ला पुगेको थियो । टोलीले लाप्चा र हिल्सा सीमाक्षेत्र पनि अनुगमन गरेर र्फकने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

शुक्रबार एकाएक मुख्यमन्त्री र काँग्रेस नेता शाही सुटुक्क हुम्ला पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गत वर्ष सीमा विवाद उत्कर्षमा पुगेका बेला मुख्यमन्त्री शाही मौन थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment