Comments Add Comment

कैलालीमा अन्तरजातीय बिहे : प्रकाश भन्छन्– उमेर पुगेपछि पुनः एक हुन्छौं

२७ असार, धनगढी । कैलालीमा प्रेम सम्बन्धपछि घरबाट भागेर अन्तरजातीय विवाह गरेका प्रकाश विश्वकर्मा र मालती रावलको जोडीलाई अलग्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ । प्रकाशले भने आफूहरुलाई उमेर नपुगेको कारण देखाउँदै अलग्याए पनि उमेर पुगेपछि पुनः एक हुने बताएका छन् ।

उमेर नपुगेको कारण देखाएर मालतीलाई आफूबाट अलग गराउने षडयन्त्र भएको बताउँदै उनले भने, ‘टीकापुर पार्कमा घुम्न गएका बेला एक वर्ष अघि हाम्रो भेट भएको थियो, सोही बेलादेखि हामीबीच प्रेम सम्बन्ध थियो । दुवैको सहमतीमा हामीले बुटवल गएर विवाह गर्यौं । तर अहिले उमेर नपुगेको भनेर कागजपत्र समेत नगरी उसलाई मबाट अलग गराइएको छ । हामी उमेर पुगेपछि फेरि एक हुन्छौं ।’ आफूहरुलाई झुक्याएर कैलाली बोलाएर मालतीको परिवारले अलग गराएको प्रकाशको भनाइ छ ।

असार ४ गते घरबाट भागेर बुटवलको एक मन्दिरमा अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिका–८ की मालती रावललाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले दुवै जनाको उमेर नपुगेका कारण सम्झाइबुझाइ गरेर परिवारको जिम्मा लगाएको जानकारी दिए । प्रहरी नायब उपरीक्षक विष्टका अनुसार प्रकाशको उमेर १९ र मालतीको उमेर १८ वर्ष मात्र छ ।

झण्डै एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले अन्तरजातीय विवाह गरेकै कारण परिवारले धम्की दिइरहेकाले आफूहरुलाई सहयोग गर्न आग्रह गर्दै भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा उनीहरुले डरले जंगलमा लुक्न बाध्य भएको बताएका थिए ।

तर प्रहरीलाई उनीहरुले जंगल बसेको नभएर बुटवलबाट फर्किने क्रममा परिवारले आफूहरुलाई एकअर्काबाट नछुटाउन् भनेर उक्त भिडियो बनाएर सार्वजनिक गरेको बताएका छन् । सोधपुछका क्रममा इलाका प्रहरी कार्यालय भजनीमा प्रकाशले र जिल्ला प्रहरी कार्यालय कैलालीमा मालतीले सो कुरा बताएको प्रहरीको भनाइ छ । प्रकाश र मालतीको उक्त भिडियो सार्वजनिक भएपछि नै प्रहरीले घटनामा चासो देखाएको थियो ।

असार ४ गतदेखि बुटवलमा बसेका उनीहरु असार २३ गते साँझ कैलाली फर्किएका थिए । घर फर्किएको भोलिपल्ट प्रकाशको घरमै पुगेर २५–३० जनाको समूहले मालतीलाई लगेको थियो । तर पछि उनीहरुले मालतीलाई प्रहरीलाई बुझाएका थिए ।

केटी पक्ष भन्छ- प्रकाशबाट छुट्याएर अन्य गतिविधि गर्ने उद्देश्य होइन

प्रकाशले मालतीको परिवारले रुकुम काण्ड दोहोर्याउने जस्ता धम्की दिएर दुई जनालाई अलग गरेदेखि सम्पर्क पनि हुन नसकेकाले उनीसँग भेटाएर सहयोग गरिदिन पनि आग्रह गरेका छन् । तर मालतीको परिवारले भने अन्य कुनै उद्देश्य नभएर उनीहरुकै भविष्यका लागि एकअर्कालाई अलग गरेको जनाएको छ ।

उनका ठूलोबुवा गणेश रावलले जातीयताको कारण नभएर केटाकेटीको उमेर पनि नपुगेकाले उनीहरुकै भविष्य उज्जवल होस् भनेर अलग–अलग गर्न बाध्य भएको बताए । रावलले छोरीलाई प्रकाशबाट छुट्याएर अन्य गतिविधि गर्ने उद्देश्य आफ्नो परिवारको नरहेको बताए ।

यो पनि पढ्नुहोस के अन्तरजातीय विवाह मागी विवाह हुन सक्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment