Comments Add Comment

प्रदेश २ मा एमाले र माओवादीद्वारा प्रदेशसभाको वैठक अवरुद्ध

२७ असार, जनकपुरधाम । प्रदेश २ सभाको बैठक विपक्षी दलका सांसदले पुनः अवरुद्ध गरेका छन् ।

यसअघि सांसद विकास कोषको रकम वृद्धि गर्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिले बजेटका अरु शीर्षकप्रति पनि आपत्ति जनाउँदै पुनः वैठक अवरुद्ध गरेका हुन् ।

सांसद विकास कोषको बजेटमा असन्तुष्टि जनाउँदै गरिएको संसदको अवरोध सहमतिमा सञ्चालन भए पनि विपक्षी दलले फेरि अर्को विषय उठाएर संसद अवरुद्ध गरेको हो । विपक्षी दलका सांसदले बजेट विनियोजन पुस्तिका रेडबु्कलाई कालोबुकको संज्ञा दिँदै बैठक अवरुद्ध गरेका हुन् ।

बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका संसद सुन्दरबहादुर विकले यो बजेट प्रदेशको नभई कुनै नगरपालिका र निर्वाचन क्षेत्रमुखी देखिएको भन्दै यसलाई सुधार नगरिएसम्म बैठक बस्न नदिने बताए । बजेटले जनतामाथि कुठाराघात गरेको पनि उनले बताए ।

माओवादी केन्द्रका सांसद दिलिप साहले मन्त्रीले आफ्नो क्षेत्रमा मनोमानी तरिकाले बजेट राखेको भन्दै अबण्डा रकम आफ्नो गोजी भर्नका निम्ति राखेको बताए । के केमा भ्रष्टाचार गर्न सकिन्छ त्यसमा मात्रै बजेट राखिएको भन्दै उनले यसलाई नसच्याइएसम्म बैठक बस्न नदिइने बताए ।

विपक्षी सांसदको अवरोधपछि सभामुख सरोजकुमार यादवले वैठक १ घण्टाका लागि स्थगित गरेका छन् ।

यसअघि विपक्षी सांसदले १ असारमा बसेको दोस्रो बैठक अवरुद्ध गरेका थिए । सांसद विकास कोषको रकम वृद्धि गर्नुपर्ने माग राख्दै उनीहरुले बैठक अवरुद्ध गरेपछि २५ गतेदेखि सरकार र विपक्षी सांसदबीच सहमति भएर बैठक सञ्चालन भएको थियो ।

त्यसअघि १५ असार र २३ असारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment