Comments Add Comment

वाग्मती प्रदेशको बजेट बहुमतले पारित

२७ असार, हेटौंडा । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७८-७९ को बजेट बहुमतले पारित भएको छ । आइतबार प्रदेशसभामा भएको छलफलपछि बजेट पारित भएको हो ।

साँझ विनियोजन विधेयक निर्णयार्थ पेश गर्दा सत्तारुढ नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी मात्र प्रदेशसभाको बैठकमा सहभागी थिए । विपक्षी दलका सांसदहरु प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।

आइतबार नै भएको बजेटमाथिको छलफलमा विपक्षी दलले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाएका थिए ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारका तर्फबाट आर्थिक वर्ष ०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएका थिए ।

कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार विनियोजन र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार रुपैयाँ विनियोजन गरेका थिए । बजेट चालुतर्फ ४५ प्रतिशत, पुँजीगत तर्फ ५१ प्रतिशत र वित्तीय तर्फ ४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

सरकारले बजेटको स्रोतमध्ये कर तथा राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालु आर्थिक वर्षबाट राजस्व बचतबाट ९ अर्ब १० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेशसभामा सोमबार विहान करसम्बन्धी प्रस्ताव पेश हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment