+
+
Shares

कांग्रेस संस्थापनइतरमा साझा उम्मेदवार चयन गर्न युवा नेताको खबरदारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते २१:३२

२७ असार, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका युवा नेताहरुले आसन्न महाधिवेशनमा एउटा मात्रै उम्मेदवार बनाउन नेताहरुलाई दवाव दिएका छन् । उनीहरुले संस्थापनइतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै भएकाले सहमतिमा एउटा मात्र उम्मेदवार तय गर्न आग्रह गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजनमा आइतबार संस्थापनइतर समूहका केन्द्रीय सदस्यको छलफलपछि सहमतिमा उम्मेदवार चयन गर्न ध्यानाकर्षण गराएका हुन् ।

‘तपाईंहरु जतिपनि नेतृत्वका आकांक्षीहरु हुनुहुन्छ, सबै मिलेर एउटा साझा उम्मेदवार तय गर्नुस्, होइन भने हामी आफै उम्मेदवार तय गर्छौ,’ छलफलमा सहभागी केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले भने । उनले पार्टी र मुलुकलाई निकास दिन सक्ने नेतृत्व कांग्रेसमा आवश्यक रहेकोमा सबैको जोड रहेको बताए ।

‘नेतृत्वका लागि तपाईंहरु झगडा गरिरहने हो भने कसलाई उम्मेदवार बनाउने भन्नेमा हामी युवाहरुबीच एकमत छ । अहिलेकै अवस्थामा कांग्रेस अगाडि बढ्न सक्दैन भन्ने हाम्रो निष्कर्श हो,’ उनले भने ।

छलफलमा केन्द्रीय सदस्य भण्डारी, गगन कुमार थापा, धनराज गुरुङ, गुरु घिमिरे, बद्री पाण्डे, रामकृष्ण यादव, किरण यादवलगायत सहभागी थिए ।

यस्तै नेता केसीले सर्वसम्मत नेतृत्व चयनका लागि युवाहरुले पनि दवाव दिनुपर्ने सुझाव दिए ।उनले भने, ‘युवाहरुले पनि नेताहरुलाई एक ठाउँमा ल्याउन प्रेसर दिनुपर्‍यो, महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटा मात्रै उम्मेदवार बनाउने गरी सबै लाग्नुपर्छ ।’

संस्थापनइतर समूहबाट सर्वसम्मत नेतृत्व चयनका लागि नेता केसीले सक्रियता देखाएका छन् । उनले शुक्रबार सभापतिका सबै आकांक्षीसँग छलफल गरेका थिए ।

संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, कल्याण गुरुङले नेतृत्वमा दावी गरेका छन् । त्यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?