Comments Add Comment

यस वर्ष दुईअर्थी अपाच्य शब्दका तीज गीतमा कमी आउने अपेक्षा छ : रमेश बिजी

तीज नजिकिँदै जाँदा तीजको भिडियोहरु सार्वजनिक हुन थालेका छन् । साउन नलाग्दै दुई दर्जन बढी तीज गीत सार्वजनिक भइसकेका छन् । हरेक वर्ष तीज गीतका नाममा विकृति एवं विसंगति बढ्दै गएको गुनासो सुनिँदै आएको छ ।

यसवर्ष भने तीज गीतमा विगतमा जस्तो विकृति विसंगतिमा कमी आउने अनुमान राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी अहिलेसम्म बजारमा आएका तीज गीतमा विगतमा जस्तो अश्लील नदेखिएको बताउँछन् ।

‘तीज आउन अझै धेरै समय बाँकी छ । तर, विगतमा केही तीज गीतमा जुन अश्लील शब्द हुन्थ्यो । कतिपय सुन्नै नसकिने दुईअर्थी शब्दका तीज गीत आउँथे । यसवर्ष अहिलेसम्म त्यस्ता गीतहरु आएका छैनन्’ अध्यक्ष बिजीले भने, ‘प्रतिष्ठानले त्यस्ता गीत नल्याउन अपिल पनि गरेको थियो । सायद त्यसलाई मनन् गरेर पनि होला ।’

यसवर्ष दुईअर्थी शब्द प्रयोग गरिएका, उच्छृङ्खल भिडियो भएका तीज गीतमा कमी आउने अपेक्षा रहेको उनले बताए । उनी अश्लील गीत र भिडियो नबनाउन सबै कलाकारहरू माझ आग्रह गर्छन् । कसैले आग्रह गरेरभन्दा पनि कलाकारहरु आफैँ नैतिक रूपमा सचेत रहनुपर्ने बिजीको भनाइ छ । अन्य गीतभन्दा पर्व गीतमा कलाकारहरुले अझ बढी संयमता अपनाउनुपर्नेमा उनले जोड दिए ।

‘हामीले विकृति फैलाउने खालका गीत नल्याउनुहोस् भन्ने हो । राज्यले खुला छोडिदिएको हामीले ताला त कसरी लगाउन सकिन्छ र ?’ बिजी भन्छन्, – ‘तर, आग्रहलाई बेवास्था गर्ने कलाकारलाई प्रतिष्ठानले हेर्ने दृष्टिकोण फरक हुन्छ । समस्या पर्दा प्रतिष्ठानले गर्ने सहयोगमा धक्का लाग्न सक्छ ।’ गत वर्ष ३ सय बढी तीज गीत बजारमा आएका थिए । यसवर्ष पनि सोही संख्यामा तीज गीत बजारमा आउने प्रतिष्ठानको अपेक्षा छ । कोरोना कालमा पनि सो संख्यामा तीज गीत बजारमा आउनु धेरै रहेको प्रतिष्ठानले जनाएको छ । पछिल्लो समय तीज गीतमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेकोप्रति बिजीले चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment