+
+
Shares

कोरोना महामारीले गन्धर्व समुदायलाई जीविकोपार्जनमा समस्या

रासस रासस
२०७८ असार ३० गते १४:५६

३० असार, गलेश्वर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ । आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदुरलाई स्थानीय तह र विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका भए पनि सारङ्गी बोकेर गाउँशहर डुली गीत गाउँदै जीविकोपार्जन गर्ने गन्धर्वहरुको पेशा नै संकटमा परेको छ ।

सुख–दुःख र घटना–दुर्घटनाका गीत गाउँदै हिँड्ने गन्धर्व समुदायको खाने गाँस समेत खोसिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतबाट बसाइँ सरी बागलुङको बलेवा गएर पुनः आफ्नै जन्मथलोमा फर्र्किएका सोमबहादुर गन्धर्व विभिन्न जिल्लाका गाउँबस्तीमा पुगी सारङ्गी रेट्दै गीत गाएर त्यसबाट कमाएको पैसाले साँझ बिहानको गाँस टार्ने गर्थे ।

तर, नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण निषेधाज्ञा जारी भएपछि उनको दैनिकी असहज बन्दै गएको छ । २०३० सालमा २० वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका छोराछोरी नभएकाले अरुले दिएकै भरमा आफ्नो गुजारा चलेको बताउँछन् ।

देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको उनको दुःखेसो छ । खाने गाँस र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्व आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भई वैकल्पिक पेशा अपनाएको समेत उनले बताए ।

कुनै दिन भारतका मुम्बई, गोरखपुर र कोलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारीलाई दुःख दिएको, विदेशमा युद्धमा लड्दालड्दै वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्वहरु कोरोना सङ्क्रमण शुरु हुनुभन्दा अघि फाट्टफुट्ट देखिने गरेकोमा कोरोनाका कारण हिजोआज देखिन छोडेका छन् ।

देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायतका भाखामा खबर दिँदै घुम्ने गन्धर्व अहिले गरिबीकै कारण पेशा परिवर्तन गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।

‘सारङगीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे,’ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले भने, ‘गीत संगीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गन्धर्वका सारङ्गीको धुन नसुनेको धेरै भयो ।’

सूचना र सञ्चारको पहुचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत संगीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीं गाउँघरमा डुल्दै आउने र सारंगी रेटेर विरहका भाका गाउने गन्धर्वले पछिल्लो समय विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?