Comments Add Comment
कांग्रेस महाधिवेशन :

१४३ निर्वाचन क्षेत्रको क्रियाशील विवाद टुंगियो

क्रियाशील सदस्यताकै कारण महाधिवेशन रोकिन्न : संयोजक लेखक

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता लगभग टुंगो लगाएको छ । तर १० दिन थपिएको समय सकिँदा पनि २२ निर्वाचन क्षेत्रको विवाद भने मिलाउन बाँकी देखिएको छ ।

समिति प्रवक्ता प्रदीप पौडेलका अनुसार १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता छानविन शुक्रबार मध्यान्हसम्म सकाइने छ । ‘शुक्रबारसम्म बाँकी जति काम सकिन्छ, त्यसका लागि प्रयास गर्छाैं,’ प्रवक्ता पौडेलले भने, ‘सहमति जुट्न नसकेको विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारीलाई नै दिन्छौं ।’

कांग्रेसमा आठ लाख ५० हजार २३२ ले क्रियाशील सदस्यता फारम भनेका थिए, जसमा चार लाख ४४ हजार १४१ नयाँ थिए । पुराना क्रियाशील सदस्यको स्वतः नवीकरण गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय भएकाले विवाद भएन । तर नयाँ र अन्य पार्टीबाट समायोजन भएर आएका क्रियाशील सदस्यको नाममा करिव १५ हजार उजुरी छानविन समितिमा परेको थियो ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखक छाानविन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउन शुक्रबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग समय मागेको बताउँछन् ।

वाग्मती, गण्डकी र कर्णाली प्रदेशका सबै निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद टुंगिएको छ ।

विवादित २२ निर्वाचन क्षेत्रमध्ये सबभन्दा बढी प्रदेश २ का छन् । प्रदेश २ को बारा र सप्तरीका सबै निर्वाचन क्षेत्र, सर्लाही क्षेत्र नं. २, धनुषा क्षेत्र नं. ३, सिरहाको एउटा क्षेत्र र रौतहट क्षेत्र नं. १ को क्रियाशील सदस्यता विवाद जटिल देखिएको हो ।

प्रदेश १ मा सोलुखुम्बु र सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा विवाद कायमै छ । लुम्बिनीमा कपिलवस्तु–३ र प्यूठानमा विवाद कायमै छ भने सुदूरपश्चिमको डडेल्धुरा र कैलालीमा विवाद देखिएको छ ।

प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यता टुंगो लागेपछि मात्रै स्थानीय अधिवेशन सुरु हुन्छ । १४ औं महाधिवेशन भदौ १६–१९ सम्म तोकिएको छ, जसका लागि स्थानीय अधिवेशन १२ साउनदेखि सुरु गर्ने कार्यतालिका छ ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखक छाानविन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउन शुक्रबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग समय मागेको बताउँछन् । ‘जति काम सकिएको छ, अब त्यसैलाई प्रतिवेदनमा समेटेर चाँडै बुझाउँछौं,’ उनले भनेका छन् ।

चार जिल्लामा पुरानै सदस्यता !

बारा, सप्तरी, रसुवा, र सिन्धुपाल्चोकमा जिल्लाभर क्रियाशील सदस्यताबारे विवाद देखिएको छ । बारा, सप्तरी र सिन्धुपाल्चोकबाट क्रियाशील सदस्यको सूची ढिलो आएकाले छानविनका लागि पर्याप्त समय नै नपाएको समितिका एक सदस्यले बताए ।

चार निर्वाचन क्षेत्र भएको बाराको क्रियाशील सदस्यता विवादलाई लिएर पाँच दिनदेखि पार्टी कार्यालय, सानेपामा धर्ना जारी छ । सिन्धुपाल्चोकमा नयाँ र समायोजनको सूची नछुट्याई नाम पठाएका छन् । रसुवामा नयाँ र समायोजनका नाममा विवाद छ ।

समिति प्रवक्ता पौडेलका अनुसार रसुवामा नयाँ क्रियाशील १६०० छन् भने अन्य दलबाट समायोजन भनेर १२०० क्रियाशील सदस्य थपिएको छ । समायोजनका नाममा मापदण्ड मिचिएको भन्दै उजुरी परेको छ ।

विवादित क्षेत्रका उजुरीकर्तालाई बोलाएर समझदारीको प्रयास भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए । नभए १३ औं महाधिवेनकै क्रियाशील सदस्यतालाई मान्यता दिएर भएपनि अधिवेशन गर्न सिफारिस गर्ने छानविन समितिको तयारी छ ।

क्रियाशील सदस्यताका कारण महाधिवेशन रोकिन्न : लेखक

छानविन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यताका कारण महाधिवेशन प्रभावित नहुने बताएका छन् । ‘हाम्रा कारण महाधिवेशन प्रभावित हुँदैन । हामीले काम सकेका छौं’ उनले अनलाइनखबरसँग भने, ‘शुक्रबार जति काम सकिन्छ, त्यसलाई समेटेर सभापतिलाई प्रतिवेदनमा बुझाउँछौं ।’

टुंगो लगाउन नसकेका निर्वाचन क्षेत्रका क्रियाशील सदस्यबारे निर्णय गर्न पार्टी पदाधिकारीलाई जिम्मा दिने समितिको तयारी छ, जसमा नेतृत्व पनि सहमत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment