+
+
Shares

एमाले बैठकमा नेताहरुले भने- संयमता अपनाऔं, शब्द चयनमा ध्यान दिऔं

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते १९:२२

१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेताहरूको अभिव्यक्ति र समर्थकको गतिविधिबारे छलफल भएको छ । पार्टी एकता जोगाउने गरी जुटेको दशबुँदे सहमति अनुमोदन गरेको बैठकमा नेताहरुको अभिव्यक्तिबारे छलफल भएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूह र उपाध्यक्ष वामदेव गौतम अनुपस्थित रहेको बैठकमा ओली तर्फका नेताहरू मात्रै सहभागी थिए । अध्यक्ष ओलीले सर्वोच्च अदालतको परमादेश र अब पार्टीले खेल्नुपर्ने भूमिकाबारे प्रस्ताव राखेपछि शुरु भएको बैठक रोक्न माधव समूहले आग्रह गरेको थियो ।

माधव नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय गोकर्ण बिष्ट र भीम आचार्य तथा नेता सुरेन्द्र पाण्डे पुगेर बैठक रोक्न आग्रह गरे पनि ओलीले अस्वीकार गरे । नेपाल समूहका नेताहरु बाहिरिएपछि स्थायी कमिटीका नेताहरुले बोलेका थिए । ‘माधव नेपाल तर्फका नेताहरुको आग्रह मानेर बैठक रोक्दै नेताहरुले कुरा राख्नुभयो । तर अब उहाँ (माधव समूह)हरुको प्रस्तावबारे आज छलफल नगरौं भन्ने भयो,’ एक स्थायी कमिटी सदस्यले भने ।

त्यसपछि अब कसरी अगाडि बढ्ने र कुन ढंगले प्रस्तुत हुने भन्नेबारे नेताहरुले धारणा राखे । विशेषगरी सार्वजनिक अभिव्यक्तिमा ध्यानु दिनुपर्छ भन्नेबारे कुरा उठेको थियो । ‘हुन त रिसको बेला मान्छे वेद पढ्दैन, तर शब्द चयनमा ध्यान दिऔं, संयमता अपनाऔं भन्ने छलफलमा भयो,’ ती नेताले भने ।

बालुवाटारबाट बालकोट फर्किएका ओलीले बार्दलीबाट भाषण गर्दै नेता माधव नेपाललाई गद्दारको संज्ञा दिएका थिए । ‘व्यक्ति नै किटान गरेर त बैठकमा कसैले केही भनेनन्, तर समग्रमा अभिव्यक्ति दिंदा शब्द चयन ठीक ढंगले गर्नुपर्छ भन्ने हो,’ अर्का स्थायी कमिटी सदस्यले भने, ‘अदालतको फैसलाबारे पनि उत्तेजना फैलाउने नभएर राजनीतिक भाषामा बोल्नुपर्छ भनेका छौं ।’

तर बैठकले सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै लामो निष्कर्ष निकालेको छ । ‘निश्चित व्यक्तिका निश्चित आकांक्षा परिपूर्तिका लागि गरिएको संविधानको यस्तो अपव्याख्याले वस्तुतः संविधानको अप्रत्यक्ष संशोधन गरेको छ,’ एमाले बैठकले भनेको छ । फैसलाप्रति ओली निकट समर्थकहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुतला दहन गर्ने कार्यलाई देशव्यापी बनाएका छन् । ‘फैसला असंवैधानिक भएकोमा असहमति त जनाउने, तर संयमता आवश्यक छ भन्ने हो,’ बैठक स्रोतले भन्यो ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?