Comments Add Comment

बाढीले नहर भत्किँदा सप्तरीमा ४ सय घर डुवानमा

५ साउन, सप्तरी । अविरल वर्षाले विभिन्‍न खोलामा आएको बाढीका कारण जीर्ण रहेको मुलुककै पुरानो चन्द्रनहरको डिल भत्किँदा करीब ४ सय घर डुबानमा परेको छ ।

जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर-४ बलार्दहस्थित चन्द्रनहरको दुईवटा डिल भत्किँदा ४ सय घर डुबानमा परेको नगरपालिका प्रमुख उत्तम गौतमले जानकारी दिए ।

नगरपालिका प्रमुख गौतमका अनुसार अविरल वर्षापछि विभिन्न खोला र नदीमा आएको बाढी ओभरफ्लो भएपछि जीर्ण अवस्थामा रहेको चन्द्रनहरको डिल भत्किएको हो । उनले भने, ‘अविरल वर्षाका कारण नहरमा पानीको ओभरफ्लो छँदैथियो । खोला र नदीमा आएको बाढीले समेत समस्या पार्‍यो । नहर भत्किएपछि आसपासका करीब ४ सय घर डुबानमा छ।’

बाढीले चन्द्रनहरमा पानी तीब्र गतिमा ओभरफ्लो भएर बग्दा बिभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । महादेवा गाउँपालिका-४ मा पनि यो नहर भत्किने अवस्थामा पुगेको उनले बताए । उनले भने, ‘उक्त नहरलाई बचाउन यहाँ स्थानीयले माटो हालेर रोक्ने प्रयास गरिरहेका छन् । लगातार पानी परिरहे यो नहर पनि भत्किने क्रमलाई रोक्न सकिँदैन।’

उक्त नहर भत्किए महादेवा गाउँपालिका-४ आसपासका सयौं घर डुबानमा पर्ने खतरा रहेको स्थानीय पिन्टु यादवले बताए ।

चन्द्रशम्शेरको पालामा सप्तरीको तत्कालिन फत्तेपुर गाविसदेखि पकरी गाविससम्म यो चन्द्रनहर निर्माण गरिएको थियो । त्रियुगा नदीबाट शुरु हुने यो नहर खाँडो खोलामा आएर मिसिने गर्दछ ।

लगातारको वर्षाका कारण सप्तरीको दक्षिणी क्षेत्रमा थप डुबानको सम्भावना बढेको मेयर गौतमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment