Comments Add Comment

अमेरिकाको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम, नेदरल्याण्ड्सको १० गोल

६ साउन, काठमाडौं । अमेरिकी महिला फुटबल टोलीको ४४ खेलको अपराजित यात्रा टुङ्गिएको छ । टोकियो ओलम्पिकअन्तर्गत बुधबारदेखि शुरु भएको महिला फुटबलमा स्वर्णको दाबेदार अमेरिका स्वीडेनसँग ३-० ले पराजित भएको हो ।

समूह जी अन्तर्गत पहिलो खेलमै स्वीडेनसँग निरीह बनेपछि अमेरिकाको स्वर्ण दाबेदारीमा धक्का लागेको छ ।

टोकियो स्टेडियममा भएको खेलमा स्वीडेनका लागि एम्मा ब्ल्याकस्टेनिउसले दुई तथा लिना हुर्टिगले एक गोल गरिन् । सन् २०१९ मा विश्वकप जितेको अमेरिका त्यसयता पहिलो पटक पराजित भएको हो । २०१६ को रियो ओलम्पिकमा पनि अमेरिका स्वीडेनसँग क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो ।

यसै समूहको अर्को खेलमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई २-१ ले पराजित गरेको छ ।

जितपछि स्वीडेन र अष्ट्रेलियाले समान ३ अंक जोडेको छ । अमेरिका र न्यूजिल्याण्ड अंकविहीन छ ।

यस्तै समूह एफ अन्तर्गत नेदरल्याण्ड्सले जामिबयालाई १०-३ को फराकिलो अन्तरले पराजित गरेको छ । मियागी स्टेडियममा भएको खेलमा डचका लागि भिभिएमे मिएडेमाले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै लिएके मर्टेन्सले २ तथा भान डे सानडेन, लिल रुड, लिनेथ बेरेनस्टेन र भिक्टोरिया पोभलाले १-१ गोल गरिन् ।

नेदरल्याण्ड्सले ओलम्पिक डेब्युमै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान समेत बनाएको छ । जाम्बियाका लागि कप्तान बारब्रा बान्डाले ह्याट्रिक गरिन् ।

यसै समूहको अर्को खेलमा मार्टा र फोर्मिङ्गाले कीर्तिमान बनाउँदा ब्राजिलले चीनलाई ५-० ले हरायो । चीनविरुद्ध दुई गोल गरेकी मार्टा लगातार पाँच ओलम्पिकमा गोल गर्ने पहिलो खेलाडी बनेकी छिन् । यस्तै फोर्मिङ्गा लगातार सात ओलम्पिक खेल्ने पहिलो खेलाडी बनिन् । साथै उनी ४३ वर्षमा ओलम्पिक खेल्दै सबैभन्दा पाको उमेरमा ओलम्पिक खेल्ने खेलाडी समेत बनिन् ।

समूह इ अन्तर्गत ग्रेट ब्रिटेनले चिलीलाई २-० ले हराउदै विजयी सुरुवात गर्दा बयोजक जापान र क्यानडाले १-१ को बराबरी खेल्दै अक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment