Comments Add Comment

महामारीकैबीच आजदेखि सुरु हुँदैछ टोकियो ओलम्पिक

गौरिका र एलेक्सले नेपालको राष्ट्रिय झण्डा बोक्ने

८ साउन, काठमाडौं । कोरोना भाइरस को बढ्दो संक्रमणकैबीच विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आजदेखि जापानको राजधानी टोकियोमा औपचारिक रूपमा सुरु हुँदैछ ।

३२औं संस्करणको गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिकका केही खेलहरू दुई दिन अघिदेखि नै सुरू भए पनि उद्घाटन समारोह आज हुन लागेको हो ।

२०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि धकेलिएको थियो । त्यसैले यस ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै छ ।ओलम्पिकको इतिहासमै पहिलो पटक स्थगित भएर एक वर्षपछि ओलम्पिक हुन लागेको हो । यसअघि विश्वयुद्धका कारण तीन पटक भने ओलम्पिक रद्द नै गरिएको थियो ।

टोकियो ओलम्पिक २०२० को उद्घाटन नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । नेशनल स्टेडियम टोकियोमा हुने उद्घाटन समारोहमा १५ राष्ट्र र संगठन प्रमुख उपस्थित हुने तयारी भइरहेको छ । औपचारिक उद्घाटन आज हुन लागेको टोकियो २०२० को सफ्टबल र फुटबल खेलहरु भने दुई दिन अघिदेखि नै सुरु भइसकेको छ ।

हरेक खेलाडीको सपना कम्तीमा एक पटक ओलम्पिक खेल्ने हुन्छ नि त्यसमा पदक जित्दै अझ ठूलो उपलब्धि हात पार्न चाहन्छन् । १७ दिन चल्ने ओलम्पिकमा यस पटक पनि करिब ११ हजार भन्दा बढी खेलाडी थप उपलब्धि हासिल गर्ने लक्ष्यसहित टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् ।

टोकियोमा कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा आपतकालीन अवस्था लागू गर्दै विनादर्शक ओलम्पिक आयोजना हुँदैछ । टोकियोमा अहिले झण्डै दैनिक करिब २ हजार संक्रमण देखिन थालेको छ । टोकियोमा त्रास बढिरहेको छ । स्थानीय बासिन्दाहरु ओलम्पिक आयोजनाको विरोधमै छन् । तैपनि विश्वकै धेरै खेल एकैपटक हुने कुम्भमेला ओलम्पिक आजदेखि सुरु हुँदैछ । यस पटकको सबैभन्दा ठूलो फरक भनेकै दर्शकविना ओलम्पिक हुँदैछ । दर्शकले अब टेलिभिजनमै ओलम्पिक हेर्नेछन् ।

यसैगरी ओलम्पिकमा सहभागी हुने देशहरुबाट भ्रमण गर्ने पदाधिकारीको संख्या पनि यसपटक घटाइएको छ ।

आयोजकले कोभिड-१९ को असरलाई ध्यानमा राख्दै सहभागिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न सेटमा प्लेबुक सार्वजनिक गरेको छ । जसलाई खेलाडी अफिसियलदेखि लिएर ब्रोडकास्टरहरुले समेत पालना गर्नुपर्नेछ । दैनिक रुपमा सबैले कोरोना परीक्षण गराउनुपर्नेछ । ओलम्पिक भिलेजमा सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ ।

ओलम्पिक सुरु हुनु अघिल्लो दिन गिनीले कोरोनाकै त्राका कारण आफ्नो कुनै खेलाडी नपठाउने निर्णय गरेको छ । उत्तर कोरियाले पनि यसअघि नै कोरोनाकै कारण ओलम्पिकमा सहभागी नहुने जनाइसकेको छ ।

टोकियो ओलम्पिकमा अमेरिकाबाट सबैभन्दा धेरै ६१३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । आयोजक जापानबाट ५५२ खेलाडी प्रतिस्पर्धा गर्दैछन् । यस पटक शरणार्थी टिमबाट २९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

टोकियो ओलम्पिकमा पाँच नयाँ खेलसँगै विभिन्न ३३ खेलको ३३९ इभेन्टमा प्रतिस्पर्धा हुँदैछ ।

नेपालबाट ५ खेलाडी सहभागी

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले सहभागिता जनाउँदैछन् । जसमा पौडीका गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट छन् ।

गौरिका, एलेक्स र सरस्वती युनिभर्सल कोटामा ओलम्पिकका लागि छनोट भएका हुन् भने कल्पना र सोनियाले वाइल्ड कार्डमार्फत् ओलम्पिकमा खेल्ने अवसर प्राप्त गरेका हुन् ।

पाँचमध्ये नेपालका चार खेलाडी जापान पुगिसकेका छन् । पौडी खेलाडी गौरिका र एलेक्सले जापानको तोकुशिमा दुई साताको विशेष प्रशिक्षण गरेर ओलम्पिक भिलेजमा पुगेका हुन् । यस्तै सुटिङ खेलाडी कल्पना र जुडोका सोनिया पनि ओलम्पिक भिलेजमा पुगिसकेका छन् ।

ढिला प्रतिस्पर्धा गर्ने भएकाले एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी लगायत केही पदाधिकारीको टोली भने जुलाई २४ अर्थात शनिबार जापानतर्फ प्रस्थान गर्दैछन् ।

नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसँगै २६ जनाको टोली ओलम्पिकमा सहभागी हुने नेपाल ओलम्पिक कमिटीले जनाएको थियो । तर राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले व्यक्तिगत कारण भन्दै ओलम्पिकमा सहभागी नजनाउने भन्दै विज्ञप्ती नै सार्वजनिक गरे । यसैगरी नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङले पनि ओलम्पिक नजाने निर्णय गरे । अब ओलम्पिकमा नेपालबाट खेलाडी र प्रशिक्षक गरी ९ जना र पदाधिकारी १५ जना सहभागी हुनेछन् ।

यस पटक ओलम्पिकको उद्घाटन समारोहको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले संयुक्त रुपमा बोक्नेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलले लैंगिक समानता गर्न भन्दै यस पटकदेखि एक महिला र एक जना पुरुष खेलाडीले झण्डा बोक्न पाउने निर्णय गरे अनुसार नेपालबाट पनि दुई खेलाडीले झण्डा बोक्नेछन् ।

पाँच वर्षअघि ब्राजिलको रियोमा भएको ओलम्पिकमा सबैभन्दा कान्छो खेलाडी बनेर चर्चा कमाएकी गौरिका लगातार दोस्रो पटक ओलम्पिक खेल्दैछिन् । यसअघि पौडीकै प्रशिद्धजंग शाहले सन् २००८ र २०१२ मा लगातार ओलम्पिक खेलेका थिए ।

नेपालबाट सर्वाधिक ओलम्पिक खेल्ने कीर्तिमान भने म्याराथन धावक बैकुण्ठ मानन्धरको नाममा छ । मानन्धरले सन् १९७६ देखि १९८८ सम्म लगातार ओलम्पिकमा म्याराथनका दौडेका थिए । यस्तै हरि बहादुर रोकायले पनि दुई पटक ओलम्पिकमा सहभागिता जनाएका छन् ।

कल्पना र सोनियाको प्रतिस्पर्धा शनिबार

नेपालबाट टोकियो ओलम्पिक सहभागी ५ खेलाडी मध्ये सुटिङकी कल्पना र जुडोका सोनियाले ओलम्पिक उद्घाटनको भोलिपल्टै प्रतिस्पर्धा गर्नेछन् ।

दुवै खेलाडी वाइल्ड कार्डमार्फत छनोट भएका हुन् । कल्पनाले महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । यस्तै सोनियाले महिला ४८ केजी तौलसमूहमा खेल्नेछिन् । उनले पहिलो चरणमै रुसकी डोल्गाभा इरिनासँग प्रतिस्पर्धा गर्नेछिन् ।

यस्तै पौडी खेलाडी एलेक्स शाहले जुलाई २७ मा पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । गौरिका सिंहले जुलाई २८ मा महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

नेपालबाट टोकियो २०२० मा प्रतिस्पर्धा गर्ने अन्तिम खेलाडी एथ्लेटिक्सकी सरस्वतीले जुलाई ३० मा महिला १०० मिटर दौडमा सहभागिता जनाउनेछिन् ।

(फोटो: आइओसी/एनओसी/एनएसजेएफ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment