Comments Add Comment

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने

११ साउन, काठमाडौं। दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितीमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच एमओयूमा हस्ताक्षर भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसी प्रसाद गौतमले एमओयूमा हस्ताक्षर गरे ।

करिब १६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) अनुमानित लागत रहेको आयोजनामा कोषले ७० प्रतिशत (करिब ११ अर्ब ३३ करोड) रुपैयाँ ऋण लगानी गर्ने छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ ।

तामाकोसी पाँचौं ४५६ मेगावाटको  मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो ।  त्यसैले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नु पर्ने छ ।

विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत उत्पादनको अनुमति २०७४को जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैक (एआईआईबी)को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माण पूर्वका कामहरु भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment