Comments Add Comment

‘बल्छी धुर्बे’ गायक पनि, अभिनयसँगै गायनलाई पनि निरन्तरता दिने

मरिचमान श्रेष्ठलाई सानै उमेरदेखि अभिनयसँगै गायनमा खुबै रुचि थियो । गोरखामा जन्मिएका उनी रेडियोमा बज्ने गीतहरु खुबै सुन्थे । तिनै गीतलाई ‘कपी’ गरेर स्कूलका कार्यक्रमदेखि मेलापातमा गाउने गर्थे ।

यता टेलिभिजनमा ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘तितो सत्य’कार्यक्रम निकै लोकप्रिय थिए । तिनै टेलिसिरियलको प्रभावले अभिनयमा पनि उनको रुचि बढेको थियो । विद्यालयका कार्यक्रममा ‘कमेडी’ मार्फत उनी शिक्षक, विद्यार्थीलाई हँसाउने प्रयास गर्थे । मरिचमान सम्झन्छन्, ‘गायन र कमेडी दुवैतर्फ रुचि थियो । स्कूल पढ्दादेखि कलाकार बन्नुपर्छ भन्ने सोच्थेँ ।’

एसएलसी सकेपछि डेढ दशक अगाडि मरिचमान कलाकार बन्नका लागि काठमाडौं आए । काठमाडौं आएर उनले अभिनय र गायनलाई सँगसँगै अगाडि बढाउन खाजे । उनी ललितकला क्याम्पसमा ‘प्लस टु’मा संगीत विषय पढ्न थाले । यता, दर्पण फिल्मस्मा कलाकार दीपक क्षेत्रीसँग अभिनय सिक्न थाले ।

सोही समयमा केदार घिमिरे, सिताराम कट्टेलसँग उनको भेट भयो । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’मा जोडिए । ‘स्पट’को काम हुँदै सोही टेलिसिरियलमा अभिनय गर्न थाले ।

यता गायनप्रतिको झुकाव पनि उत्तिकै थियो । सोहीकारण सोही समयमा संगीत समेत सिकिरहेका थिए । आफूले गान्धर्व संगीत विद्यालयमा गुरु चन्दनलाल श्रेष्ठसँग पाँच वर्ष शास्त्रीय संगीत सिकेको मरिचमान बताउँछन् । सोही समय ‘टाढा छैनौ जस्तो लाग्छ’ बोलको गीतमा समेत उनले स्वर दिएका थिए ।

‘मेरी बास्सै’मा ‘बल्छी धुर्बे’ पात्रका रुपमा काम गरेपछि मरिचमानको छुट्टै चिनारी बन्यो । उनी अभिनयमा नै ब्यस्त बने । टेलिसिरियलदेखि स्टेजसम्म उनको ब्यस्तता बढ्यो ।

‘मेरी बास्सै’पछि मरिचमान र राजु पौडेलले हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ सुरु गरे । अहिले यी दुईले ‘हल्का रमाईलो’सँगै सामाजिक विषयवस्तुमाथि ‘जुठे’ टेलिसिरियल ल्याईरहेका छन् ।

पहिल्यैदेखि अभिनय र गायनलाई संगसंगै अगाडि बढाउन खोजेपछि विस्तारै गायन छुट्दै गयो । तर, गायनप्रतिको चाहाना भने सधै रहिरहेको थियो । मरिचमान भन्छन्, ‘अभिनयमा ब्यस्त बनेपनि गीत गाउने चाहना सधै रहिरह्यो ।’
अब भने मरिचमानले अभिनयसँगै गायनलाई पनि निरन्तरता दिने सोच बनाएका छन् । हालसालै मरिचमानको स्वरमा समावेश तीज गीत ‘पारीवन हरियो’ सार्वजनिक गरिएको छ । गीतमा मरिचमान र गायिका सपना घिमिरे (पौडेल)को स्वर छ । गीतमा शब्द, संगीत पनि गायिका पौडेलको छ । उनी कलाकार राजु पौडलकी श्रीमती हुन् ।

त्यस्तै यस गीतमा सुदिप सागरको एरेन्ज, किस्मत भान्जाको साउण्ड मिक्सिङ छ । दीपेन्द्र तिमिल्सीनाको निर्देशनमा तयार भिडियोमा ‘बल्छी धुर्बे’का साथै राजु पौडेल, दीपेन्द्र तिमिल्सीना, सपना पौडेल, अनिता बस्नेत, सविना आचार्य लगायतको अभिनय छ । सौरभ लामाको छायाङ्कन रहेको गीतको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । गीत दुई दिनअघि मात्रै युट्युबमा सार्वजनिक गरिएको हो । दुई दिनमा गीतले झण्डै ८ लाख भ्यूज पाएको छ । स्रोता एवं दर्शकको प्रतिक्रियाबाट मरिचमान निकै खुसी छन् ।

‘बल्छीको स्वर पनि राम्रो रहेछ भन्ने खालका प्रतिक्रियाहरु पाएको छु । प्रतिक्रियाले एकदमै खुसी मिलेको छ’ मरिचमानले अनलाइनखबरसँग भने, ‘स्रोताहरुले माया गरिदिनुभयो भने आउँदा दिनमा पनि निरन्तर गीतहरु गाउँदै जानेछु ।’ उनले अन्य गीतको तयारी समेत भईरहेको जानकारी दिए । दशैं अगाडि आफ्नो स्वरमा दुईवटा गीत सार्वजनिक हुने मरिचमानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment