Comments Add Comment

राहतको चामल गोदाममै कुहिएपछि नगरपालिका कार्यालयमा तोडफोड

१२ साउन, रौतहट । कोरोना महामारीमा विपन्नलाई वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि स्थानीय वासिन्दाले रौतहटको देवाही गोनाही नगरपालिका कार्यालय तोडफोड गरेका छन् ।

नगरपालिकाले गरिव, असहाय, दलित समुदायलाई राहत वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि सोमबार राति खाल्डो खनेर पुरेको थियो ।

महामारीका बेला जनता भोकभोकै परेको तर नगरपालिकाले चामल कुहाएर फालेको भन्दै स्थानीयले मंगलबार दिउँसो नगरप्रमुखलाई कार्यालय भित्रै थुनेर ढुङ्गामुढा र तोडफोड गरेका हुन् ।

स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

नगरपालिकाले खरिद गरेको चामल कुहिएपछि अरुले चाल नपाओस् भनेर मेयर धर्मेन्द्र पटेलले रातिको समयमा पुरेको वडा नम्बर ४ का वडाध्यक्ष रामप्रवेश पटेलले आरोप लगाए ।

मेयर पटेलले भने गोदाममा राखेको चार सय बोरा चामलमध्ये २० बोरा चामल पानीले भिजेर कुहिएको बताए । भण्डारण गरिएको संग्रहालयको झ्याल खुलेका कारण पानीले भिजेर चामल कुहिएको र त्यसलाई नष्ट गरेको उनको भनाइ छ ।

उनले कोरोना महामारीको समयमा दुई हजार परिवारलाई राहत दिएको र बाँकी रहेको चामल भण्डारण गरेर राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment