Comments Add Comment

इजरायलमा ६० वर्ष माथिकालाई कोरोना खोपको तेस्रो डोज दिइँदै 

१५ साउन, काठमाडौं । इजरायलले ६० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुलाई कोभिड–१९ विरुद्धको खोपको तेस्रो डोज दिने भएको छ ।

इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै बिहीबार यस्तो घोषणा गरेका हुन् । उनका अनुसार कोरोना खोपको दोस्रो डोज लगाएको पाँच महीना पूरा भएका ज्येष्ठ नागरिकहरुलाई बुस्टरको रुपमा तेस्रो डोज पनि दिन लागिएको हो ।

‘खोप सुरक्षित रहेको देखिइसकेको छ । यसले गम्भीर लक्षण र मृत्युदर घटाउने पनि देखिएको छ । जसरी फ्लुको खोप समय समयमा लगाइराख्नुपर्ने हुन्छ, त्यसैगरी यो खोप पनि निश्चित समयमा लगाइराख्नुपर्छ’, प्रधानमन्त्री बेनेटले भने ।

इजरायल सबैभन्दा छिटो कोरोना खोप अभियान सञ्चालन गर्ने मुलुकमध्येको एक हो । अहिलेसम्म इजरायलमा समग्र जनसंख्याको ५७ प्रतिशतले पूरा डोज खोप लिइसकेका छन् ।

यद्यपि इजरायलमा डेल्टा भेरियन्टको कारण संक्रमण बढेको छ । इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार डेल्टा भेरियन्टको कारण खोपको प्रभावकारितामा भने कमी आएको छ । बुधबार फाइजर कम्पनीले पनि मानिसहरुलाई सुरक्षित राख्न तेस्रो डोज दिइनु राम्रो हुने बताएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment