Comments Add Comment

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमाथि होटलमा खोप बिक्री गरेको आरोप

प्रहरी भन्छ -उजुरी परे कारबाही हुन्छ

फाइल तस्वीर

१५ साउन, झापा । होटलमा राखेर खोप विक्री गरेको आरोपमा बिर्तामोडवासीले एक जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर प्रहरी कहाँ बुझाएका छन् ।

बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम खड्काले १० हजार रुपैयाँ लिएर होटलमा खोप लगाएको बताउँदै स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरी र पत्रकार बोलाएका थिए ।

झापाका एसपी सानुराम भट्टराईका अनुसार स्थानीयको खबरपछि प्रहरीले घटनास्थल पुगेर खड्का पक्राउ गरेको छ । खोपको केही डोजसमेत बरामद गरेर इलाका प्रहरी कार्यालय, अनारमनीमा पठाइएको छ ।

‘उहाँले होटल क्वारेन्टिनमा बस्नेलाई भनेर जिल्लाबाट आएको खोप भएको र कसैबाट पैसा नलिएको बताउनु भएको छ’ भट्टराईले अनलाइनखबरसँग भने, ‘विस्तृत अनुसन्धान गरिरहेका छौं ।’ हालसम्म कसैले पैसा लिएको भनेर मौखिक वा लिखित उजुरी नदिएको उनले बताए ।

उजुरी दिए ठगीमा कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए । उजुरी नपर्दा पनि के गर्ने भनेर सरकारी वकिलसँग समन्वय र छलफल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment