१६ साउन, काठमाडौं । अमेरिकन सुपरस्टार जिम्न्यास्ट सिमोन बाइल्सले जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा थप दुई इभेन्टको फाइनल नखेल्ने भएकी छन् ।
युएसए जिम्न्यास्टिकका अनुसार बाइल्सले आइतबार हुने भल्ट र अनइभन बारको इभेन्ट फाइनल नखेल्ने भएकी हुन् ।
यसअघि उनले मानसिक स्वास्थ्यको कारण दुई इभेन्टसको फाइनल खेलिनन् । उनले बिहीबार भएको अलराउण्ड फाइनल पनि खेलिनन् । बाइल्सले त्यो भन्दा अघि वुमन्स टिमको फाइनलमा समेत प्रतिस्पर्धा गरिनन् ।
बाइल्सले अझै सोमबार हुने फ्लोर फाइनल र मंगलबार हुने ब्लालेन्स बिम फाइनल खेल्न बाँकी छ । त्यो दुई इभेन्ट भने उनले खेल्ने सम्भावना छ ।
बाइल्सले नखेल्ने भएपछि अब उनको सट्टा भल्ट इभेन्टमा अमेरिकी कायला स्कनिरले प्रतिस्पर्धा गर्नेछिन् । क्वालिफाइङमा स्कीनर चौथो भएकी थिइन् । हरेक इभेन्टमा एउटा देशबाट २ खेलाडी मात्र फाइनल पुग्ने भएकाले स्कीनरले सुरुमा फाइनलमा स्थान बनाउन सकेकी थिइन् । अमेरिकाबाट बाइल्स र जेड केरी फाइनलमा छनोट भएका थिए ।
स्कीनरले फाइनलका लागि धेरै प्रतीक्षा गर्न नसकिने र बाइल्सका लागि प्रतिस्पर्धा गर्ने बताएकी छन् । यस्तै अनइभन बारको फाइनलमा भने बाइल्सको स्थानमा फ्रान्सकी मेलाने डे जेसस डोसले प्रतिस्पर्धा गर्नेछिन् ।
युएसए जिम्न्यास्टले बाइल्सले ओलम्पिका बाँकी दुई इभेन्टमा प्रतिस्पर्धा गर्ने नगर्नेबारे दैनिक रुपमा मुल्यांकन गर्ने जनाएको छ ।
After further consultation with medical staff, Simone Biles has decided to withdraw from the event finals for vault and the uneven bars. She will continue to be evaluated daily to determine whether to compete in the finals for floor exercise and balance beam. pic.twitter.com/kWqgZJK4LJ
— USA Gymnastics (@USAGym) July 31, 2021
चार पटकको ओलम्पिक स्वर्ण विजेता बाइल्सले टोकियो ओलम्पिकमा टिम फाइनलमा युएस टिमबाट रजत पदक जितेकी छन् ।
भल्टमा प्रतिस्पर्धा गरेपछि उनले आफ्नो प्रदर्शनको तालमेल नमिलेको र निरन्तरता दिन उपयुक्त नभएको बताएकी थिइन् । त्यसपछि उनीबिना नै अमेरिकन टिमले प्रतिस्पर्धा गरेको थियो र बाइल्सले बाहिर बसेर समर्थन गरेकी थिइन् ।
त्यसपछि वुमल्स टिम फाइनलमा भने उनले मानसिक समस्याको कारण प्रतिस्पर्धा गरिनन् ।
सन् २०१३ देखि अलराउण्डमा अपराजित रहँदै बाइल्स टोकियो ओलम्पिकमा पुगेकी थिइन् । र उनले ५३ वर्षयता ओलम्पिकमा महिलातर्फ लगातार दुई अलराउण्ड उपाधि जित्ने अपेक्षा गरिएको थियो ।
प्रतिक्रिया 4