+
+

कोरोना कालमा कति कमाए एप्पल सीईओ टिम कुकले ? यी हुन् सर्वाधिक रकम बुझ्ने हाकिमहरु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १३:३७

आफ्ना प्रिमियम प्रोडक्टहरुका लागि चर्चित अमेरिकी कम्पनी एप्पल संसारको सर्वाधिक मूल्यवान ब्राण्ड पनि हो । सीईओ टिम कुकको पछिल्लो ११ वर्षे कार्यकालमा एप्पलले ठूलो प्रगति गरेको छ । एप्पलले मात्र प्रगति गरेको होइन सीईओ कुकले पनि वर्षेनी निकै ठूलो धनराशी कमाउने गरेका छन् ।

ब्लुम्बर्गको वार्षिक भुक्तानी सूचकांकका अनुसार टिम कुकले सन् २०२० मा एप्पलबाट तलब, भत्तालगायतका विभिन्न भुक्तानी बापत करिब २६ करोड ५० लाख डलर प्राप्त गरेका छन् । यो भनेको ३० अर्ब नेपाली रुपैयाँभन्दा बढी हो ।

यो रकममध्ये एक करोड ७ लाख डलर बोनस रकम हो । त्यस्तै ३० लाख तलब, १० लाख डलर भत्ताको रुपमा उनले बुझेका छन् । सबैभन्दा धेरै २५ करोड तीन लाख डलर त उनले शेयर पुरस्कार अर्थात् स्टक अवार्डबापत प्राप्त गरेका हुन् ।

ब्लुम्बर्गका अनुसार टिम कुकको सन् २०२० को भुक्तानी प्याकेट झण्डै दोब्बर भएको छ । सन् २०१९ मा एप्पलबाट उनले १३ करोड ३७ लाख डलर भुक्तानी लिएका थिए ।
रिपोर्ट अनुसार एप्पल सिइओ टिम कुक सबैभन्दा धेरै आम्दानी गर्ने अमेरिकी सीईओहरुको सूचीमा आठौँ स्थानमा रहेका छन् ।

वालस्ट्रिट जर्नलको एक रिपोर्ट अनुसार टिम कुकले एप्पलबाट प्राप्त गरेको तलब, भत्ता, सुविधामा यदि शेयर पुरस्कार हटाउनेहो भने जम्मा एक करोड ४७ लाख डलर मात्र हुन आउँदछ । रिपोर्ट अनुसार अमेरिकाको शेयर बजारमा सबैभन्दा ठूला पाँच सय कम्पनीका सीईओहरुको वार्षिक औसत तलब एक करोड ३४ लाख रहेको छ ।

कम्पनीबाट तलब, भत्ता तथा अन्य सुविधाहरुवापत सन् २०२० मा सर्वाधिक भुक्तानी लिने टपटेन अमेरिकी सीईओ तथा कार्यकारीहरुको सूची यस्तो छ :

१. एलन मस्क, सीईओ, टेस्ला कम्पनी : ६ अर्ब ६५ करोड ८८ लाख डलर
२. माइक पिकोस्ज, सीईओ, ओक स्ट्रिट हेल्थ कम्पनी : ५६ करोड ८५ लाख
३. ट्रेभोर बेज्डेक, सीईओ गुड आरएक्स होल्डिंग्स : ४९ करोड ७८ लाख
४. डग्लस हिर्स्च, सीईओ, गुड आरएक्स होल्डिंग्स : ४९ करोड ७८ लाख डलर
५. इरिक वु, सीईओ ओपन डोर टेक्नोलोजी : ३८ करोड ८७ लाख डलर
६. एलेक्स कार्प, सीईओ पालान्टिर टेक्नोलोजिज : ३६ करोड ९५ लाख डलर
७. जेफ्री प्राइस, सीईओ ओक स्ट्रिट हेल्थ : ३५ करोड ६३ लाख
८. टिम कुक, सीईओ एप्पल : २६ करोड ५० लाख
९. गिफिन मायर्स, सिएमओ ओक स्ट्रिट हेल्थ : २२ करोड १३ लाख
१०. चाड रिचिसन, सीईओ पेकम सफ्टवेयर : २२ करोड डलर

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?