+
+

लुम्बिनी प्रदेश सभामा एमालेको नाराबाजी र अवरोध

टोपराज शर्मा टोपराज शर्मा
२०७८ भदौ २ गते १४:०८

२ भदौ,बुटवल । प्रमुख विपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभा वैठकमा नाराबाजी गर्दै अवरुद्ध गरेको छ ।

प्रदेश सभा बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म वैठक चल्न नदिने बताएलगत्तै एमाले सांसदहरु उठेर रोष्टम नजिक पुगेर नाराबाजी गरे ।

सभामुख पूर्णबहादुर घर्तीले एमालेले दिएको पत्रमा प्रशासनिक प्रक्रिया शुरु गरिएको बताएका छन् । बुधबारको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची थियो ।

यस्तै उद्योग, वन तथा वातावरणमन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची थियो ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले यसअघिको सरकारले अध्यादेशबाट ल्याएको विनियोजन विधेयक (वजेट ) फिर्ता गर्न टेबल गर्ने र सभामुखले निर्णयार्थ पेश गर्ने कार्यसूची पनि बुधबारको बैठकमा राखिएको थियो ।

यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची थियो ।

सभामुखसँग रोष्टमबाटै सवाल जवाफ 

बैठक शुरु भएलगत्तै एमाले सांसद रिजालले दलको ह्वीप उल्लंघन गरेकाले अजय शाही र विमला वलीलाई कारबाही गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिइसकेको र उनीहरुलाई पदमुक्त नगरेसम्म प्रदेशसभा चल्न नदिने बताए ।

त्यसलगत्तै एमाले सांसदहरु रोष्टममा पुगेर नाराबाजी गरेका थिए । सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख पूर्णबहादुर घर्तीले ‘माननीयज्यू मैले एउटा कुरा राखेँ’ भन्दै बोल्न शुरु गरे ।

उनले विरोधको प्रक्रिया अघि बढाउँदा प्रदेशसभा नियमावलीको कुन नियमअनुसार विरोध गरेको हो भन्ने उल्लेख गर्न सचेत गराए । त्यसपछि उनले एमालेले दिएको कारबाहीसम्बन्धी पत्र प्रशासनिक प्रक्रियाअनुसार टुंगो लगाउने बताए ।

‘स्वाभाविक रुपमा यहाँहरुले दिएको पत्रहरु यहाँ प्रशासनिक रुपमा टुंगो लगाउने प्रक्रियामा नै छ । मैले प्रतिपक्षी दलका प्रमुख सचेतक छलफल गरेको थिएँ । यस हिसाबले हामी प्रक्रिया अघि बढाउनेछौं’ उनले भने ।

त्यसपछि रोष्टमबाट एमाले सांसद तुलसी चौधरीले अरु दलले दिएको निवेदनमा तुरुन्तै कारबाही हुने तर एमालेले दिएको निवेदनमा कारबाही नभएको भन्दै आपत्ति जनाए ।

‘अरुको डकुमेन्ट त हेर्नुभएको छ नि माननीय सदस्यले, ल ठीकै छ, यसलाई यहाँ बहसको विषय होइन, हामीले यसलाई प्रक्रियामा लैजान्छौं’ सभामुख घर्तीले भने ।

प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा वैठक सञ्चालन गर्ने विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षी दलबीच छलफल भएपनि सहमति जुटेको थिएन ।

नेकपा एमाालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद अजय शाही र विमला खत्री वलीलाई सभामुखले पदमुक्त नगरेसम्म प्रदेश सभा वैठक चल्न नदिइने बताए ।

नेकपा विभाजनपछि गत बैसाख १९ गते माओवादी केन्द्र रोजेकी विमला एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् ।

वलीलाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा वन्धक बनाएर राखेको आरोप समेत लागेको थियो । शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्वीप नलाग्ने दावी गर्दै आएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले सत्ताबाट विपक्षमा जाने वित्तिकै एमालेले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?