+
+

५ हजार पर्यटन मजदुरलाई अस्थायी रोजगारीको कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १८:३८

३ भदौ, काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा रोजगारी गुमाएका पर्यटन मजदुरलाई अस्थायी रोजगारी दिन एक परियोजना संचालन गरिने भएको छ ।

पर्यटन क्षेत्रमा कार्यरत करीव ५ हजार मजदुरलाई अस्थायी प्रकृतिको रोजगारी सिर्जना गर्न ‘जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना’ संचालन गर्न लागिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम -युएनडिपी)सँगको सहकार्यमा यस्तो कार्यक्रम संचालन गर्न लागेको हो ।

यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूरलाई राहत पुग्ने समेत बताइएको छ । यो कार्यक्रम दुई वर्ष ६ महिना अवधिको हुने छ ।

परियोजनामा नेपाल पर्यटन बोर्डले १० लाख डलर र युएनडिपीले १० लाख ५० हजार सहलगानी गर्ने छ । कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरि परियोजना संचालन गरिने बोर्डले जनाएको छ । बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको जनाएको छ ।

परियोजनाको कार्यक्रम अनुरुप पर्यटन बोेर्ड (जिविकोपार्जन पुनःउत्थानका लागि दियो पर्यटन परियोजना (एसटीएलआरपी) र नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् -नाटा) बीच बुधबार सम्झौता भएको छ । सम्झौता अनुसार नाटाले महामारीले रोजगारी गुमाएका साढे ५०० भन्दा बढि पर्यटन मजदुरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजगारी प्रदान गर्ने छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिड १९ को महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएको अवस्थामा यस परियोजनाले ती मजदुरको लागि छोटो अवधीको भएपनि रोजगारीको अवसर सिर्जना गर्ने बताए । उनका अनुसार पर्यटकीय स्थान र पर्यटकीय गन्तव्यहरूको मर्मत सम्हार तथा सरसफाईको काम गराइने भएको छ ।

यसले सम्पदालाई जीवन्त राख्न पनि सहयोग पुग्ने उनको भनाइ छ । मजदुरले काम गरेपछि सिधै आफ्नो खातामा रकम पाउने गरी पारदर्शी ढंगले कार्यक्रमको कार्यान्वयन हुने उनको भनाई छ ।

नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) का अध्यक्ष अच्युत गुरागाँईले कोभिड महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस परियोजनाले पर्यटन मजदुरका लागि थोरै भएपनि राहत प्रदान गर्ने बताए ।

नाटाले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिने उनले बताए । परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ्ग) गरिने नदी, ट्रेकिङ्ग टे्रल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित १ हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापन तथा मर्मत सम्भारलगायत कार्यमा संलग्न गराइने भएको छ । उनीहरुलाइ ४० दिन बराबरको रोजगारी प्रदान गरिने भएको छ ।

यसैगरी परियोजना अन्तर्गत बोर्ड र नेपाल एशोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा) बीच मंगलवार राफ्टिङ्ग क्षेत्रका २०० मजदुरलाई काम दिने सम्झौता भएको छ । सम्झौता अनुरुप नाराले कोभिड १९ को महामारीले रोवजगारी गुमाएका करिब २०० मजदुरलाई प्रतिव्यक्ति कम्तीमा १२ दिनको रोजगारी दिने छ ।

सम्झौता अनरूप नाराले आफ्नो मातहतका २०० जना मजदुरलाई त्रिशूली, भोउनका अनुसार टेकोशी,कर्णाली,सेती र कालिगण्डकी नदीमा जलयात्रा गरिने क्षेत्रमा पूर्वाधार मर्मत संहार तथा सरसफाई लगायतका काम  गरिने नाराका अध्यक्ष गंगाप्रसाद नेपालले जानकारी दिए । उनले पर्यटकीय गतिविधि शुन्यप्रायः रहको अवस्थामा यो कार्यक्रमले केहीसम्म भएपनी पर्यटन मजुदरलाई राहत प्रदान गर्ने बताए ।

नदीमा जलप्रवाह बढिरहेकोले असोज १ गतेबाट मजदुरलाई काममा लगाइने उनले जानकारी दिए । कीर्तिपुर, चाँगुनारायण, थाहा नगरपालिका, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ ,सोलुखुम्बु, संखुवासभा, मुस्ताङ, पर्वत र ओखलढुङगाका एक/एक गरी १० स्थानीय स्थानीय तहसँग सम्झौता गरी जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरेको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?