+
+

साफमा हारे मेरो गल्ती, जिते श्रेय खेलाडीलाई : अलमुताइरी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ५ गते ६:३८

५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम अहिले साफ च्याम्पियनसिपको तयारीमा छ । साफ अक्टोबरमा माल्दिभ्समा हुँदैछ । त्यसअघि भारतसँग सेप्टेम्बरमा घरेलु मैदानमा दुई खेल खेल्नेछ ।

हाल पोखरामा नेपालले तयारी गरिरहेको छ । त्यसै अवसरमा नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)को मिडियासँग कुरा गर्दै साफ जित्न नसके आफ्नो गल्ती हुने र जितेमा खेलाडीलाई श्रेय जाने बताए । ‘नेपालले अहिलेसम्म साफ जित्न सकेको छैन । त्यसैले साफ हाम्रा लागि धेरै महत्वपूर्ण छ । तर खेलाडीलाई दबाब नदिऔं । यदि साफमा हार्‍यौं भने मेरो गल्ती हुनेछ । जित्यौ भने सबै श्रेय खेलाडीलाई जानेछ ।’

प्रशिक्षक अलमुताइरीले यसअघि पनि बारम्बार नेपालले साफ जित्नुपर्ने बताउँदै आएका छन् ।

यस पटक पाँच टिम मात्र सहभागी भएकोले सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

नेपालले अहिलेसम्म साफको फाइनलमा समेत स्थान बनाउन सकेको छैन । त्यसले पहिलो लक्ष्य नेपालको फाइनल पुग्ने नै हुनेछ ।

१३औं संस्करणको साप अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ । जहाँ नेपालले पहिलो खेलमै घरेलु टोलीसँग खेल्नेछ । पहिलो खेल जहिले पनि कठिन नै हुन्छ । त्यसैले प्रशिक्षक पनि यसबाट सचेत छन् । ‘साफको पहिलो खेलमा माल्दिभ्ससँग खेल्दैछौं । यो हाम्रो लागि कठिन खेल हो । किनभने माल्दिभ्स आयोजक हो र साथै डिफेन्डिङ च्याम्पियन पनि हो । उनी उपाधि रक्षामा लाग्नेछन् ।’

नेपालले अक्टोबर १ (असोज १५) मा माल्दिभ्संग उद्घाटन खेल खेल्दै साफको यात्रा सुरु गर्नेछ । त्यसपछि अक्टोबर ३ (असोज १७) मा श्रींलकासंग खेल्नेछ । अक्टोबर ८ (असोज २२) मा भारतसँग र अक्टोबर ११ (असोज २५) मा बंगलादेशसंग खेल्नेछ ।

नेपाल पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफमा सेमिफाइनलबाटै बाहिरिएको थियो । उपाधिको दाबेदार रहेको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३-० ले पराजित भएको थियो ।

यस पटक नेपालको त्यो हारको बदला उसकै घरमा समेत लिन चाहन्छ । पछिल्लो साफ पछि नेपाल र माल्दिभ्स साफमै फेरि भिड्न लागेका हुन् ।

नेपालले साफअघि दशरथ रंगशालमा भारतसँग सेप्टेम्बर २ र ५ (भदाै १७ र २० गते) मा मैत्रीपूर्ण खेल खेल्दैछ ।

फोटो : एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?