+
+

रियल बेटिस र क्याडिजको दोस्रो बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ५ गते १०:२२

५ भदाै, काठमाडौं । बहुँप्रतिष्ठित स्पेनिस ला लिगाअन्तर्गत दोस्रो चरणको खेल शुक्रबार रातिबाट सुरु भएको छ । दोस्रो चरणको खेलमा रियल बेटिस र क्याडिजले बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामारिन स्टेडियममा भएको खेलमा बेटिस र क्याडिजले १-१ काे बराबरी खेलेका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलमा पहिले अग्रता पाहुना टोली क्याडिजले लियो । ११औं मिनेटमा अल्भारो नेग्रेडोले पेनाल्टीमार्फत गोलको खाता खोले । डिबक्सभित्र बेटिसका गोलरक्षक रुई सिल्भाले क्याडिजका एन्टोनी लोजानोलाई खराव ट्रयाकल गरेपछि क्याडिजले पेनाल्टी पाएको थियो ।

त्यसपछि बेटिसले २२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो । बेटिसका लागि जुआनमीले बराबरी गोल गरे । उनले इडगर गोन्जालेजको पासमा गोल गरेका थिए । बल पोसेसनमा बेटिस बलियो देखिएको थियो । ७५ प्रतिशत बल पोसेसन राख्न सफल बेटिसले दोस्रो हाफका गोल गर्ने राम्रा अवसर खेर फाल्यो । यता २५ प्रतिशत मात्र बल पोसेसन राखेको क्याडिज आफ्नो डिफेन्सिभ रणनीतिमा सफल रह्यो । क्याडिजका मिडफिल्डर थोमस अर्लाकोन ‘म्यान अफ दी म्याच’ भए ।

जारी लिगमा बेटिस र क्याडिजको यो लगातार दोस्रो बराबरी हो । नयाँ सिजनको सुरुआती खेलमा पनि यी दुवै टोली १-१ गोलको बराबरीमा रोकिएका थिए । पहिलो खेलमा बेटिस मालोर्कासँग बराबरीमा रोकिएको थियो । क्याडिजले घरेलु मैदानमा लेभान्तेसँग एक एक अंक बाँडेको थियो । दोस्रो बराबरीसँगै दुई खेलबाट दुई अंक बनाएको क्याडिज छैटौं स्थानमा छ । समान खेलबाट दुई अंक जाेडेको बेटिस सातौं स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति बार्सिलोना र एथलेटिक बिल्बाओबीच प्रतिस्पर्धा हुँदैछ । बिल्बाओको घरेलु मैदानमा हुने खेलमा बार्सिलोना लगातार दोस्रो जित निकाल्ने दाउमा छ । यता पहिलो खेलमा इल्चेसँग गोल रहित बराबरीमा रोकिएको बिल्बाओ घरेलु मैदानमा बलियो बार्सिलोनालाई रोक्ने प्रयासमा हुनेछ । बार्सिलोनाले सिजनको पहिलो खेलमा रियल सोसिडाडलाई ४-२ गोलले हराएको थियो ।

सदाबहार स्टार लियोनल मेस्सीले बार्सिलोना छाडेपछि बार्सिलोनाको प्रदर्शनलाई लिएर चर्चा परिचर्चा भइरहेको छ । मेस्सीबिनै पहिलो खेलमा सानदार नतिजा निकालेको बार्सिलोना दोस्रो खेलमा पनि उही लय समात्ने अभियानमा छ।

मेस्सी हालैमात्र २१ वर्षे बार्सिलोना बसाई अन्त्य गरेर फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्ध भएका छन् । यद्यपी पीएसजीले लिगमा सुरुवाती तीन खेल जितिसक्दा मेस्सीलाई अझै मैदानमा उतारेको छैन । ला लिगामै शनिबार राति भ्यालेन्सिया र ग्रानाडा, भिल्लारियल र इस्पान्योल तथा मालोर्का र डिर्पोटिभो अलाभेसबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?