+
+

गण्डकीका मन्त्रीको सम्पत्ति : अथाह घरजग्गा, किलोमा सुनचाँदी

दीपक मनाङेले सार्वजनिक गरेनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १३:२३

९ भदौ, पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेश सभा मन्त्री विन्दुकमार थापा देखिएका छन् ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, भौतिक पूर्वाधार मन्त्री कुमार खड्काको पनि घर जग्गा र सुनचाँदी धेरै देखिएको छ । मन्त्रीहरुले बैंकबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

आन्तरिक मामिला तथा प्रदेश सभामन्त्री थापाको आफ्नो र श्रीमतीको नाममा विभिन्न मल तथा होटल रहेका ६ वटा घर छन् । पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्टलाई थापाले आफ्नो सम्पत्ति विवरणमा राखेका छन् । त्यस्तै पोखराका विभिन्न ठाउँमा उनी र परिवारको सदस्यको नाममा जग्गा छ ।

पोखरा नयाँ बजार निवासी मन्त्री थापासँग नगद भने ५५ हजार रुपैयाँ मात्र छ । त्यस्तै ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा पनि उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । डेढ दर्जन बैंक तथा वित्तीय संस्थामा थापा र परिवारका सदस्यको नाममा शेयर रहेको छ ।

थापासँग १ करोड २० लाख र १ करोड ५ लाख पर्ने दुईवटा गाडी छ भने रोलेक्स र कार्टियर घडी ३ थान छ । थापाले विभिन्न बैंकबाट ३० करोड रुपैयाँभन्दा बढी ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको नाममा स्याङ्जाको भीरकोट र काठमाडौं नागार्जुनमा घर छ । उनी र उनको परिवारका सदस्यको नाममा काठमाडौंको ४ ठाउँमा जग्गा छ, स्याङ्जाका भीरकोट नगरपालिकामा २ ठाउँमा जग्गा छ ।

श्रेष्ठसँग १ किलो १९ तोला सुन छ । उनले यसलाई पैतृक तथा पेवा सम्पत्ति भनेका छन् । ७ किलो २ तोला चाँदी, एउटा हिराको औंठी र नगद मौज्दात १५ लाख रुपैयाँ गरेको श्रेष्ठले सार्वजनिक गरेका छन् । श्रेष्ठ र परिवारको नाममा करिब ७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री श्रेष्ठसँग ८ वटा बैंक तथा वित्तीय संस्थाको शेयर छ भने सिटिजन्स बैंकबाट २ पटकमा गरी ऋण ७ करोड ९० लाख रुपैयाँ ऋण लिएका छन् । मन्त्री श्रेष्ठसँग एउटा कार, २ वटा स्कुटर छ भने स्याङ्जाको भीरकोटस्थित सुन्तला बगैंचाबाट प्रति वर्ष ६ लाख रुपैयाँ आम्दानी हुने देखाएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माको बागलुङमा श्रीमतीको नाममा ४८ लाखको घर छ । रुपन्देहीमा ५७ लाख, चितवनमा ६३ लाखको जग्गा रहेको मणिभद्रले बागलुङमा पुख्र्यौली जग्गा छ र त्यस्तै ३ वटा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको उल्लेख गरेका छन् ।

दाइजो र पुर्खौली सम्पत्तिबाट प्राप्त गरी मणिभद्रसँग २५ तोला सुन र १ किलो चाँदी सम्पत्ति छ । करिब ३ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा बचत देखाएका शर्मासँग ८० लाख रुपैयाँभन्दा बढी रकमको शेयर रहेको छ ।

भैतिक पूर्वाधार मन्त्री कुमार खड्काले स्वआर्जनका रुपमा पोखरा महानगरपालिका–१६ मा घर देखाएका छन् । श्रीमतीलाई माइतबाट प्राप्त बकसका रुपमा प्राप्त जग्गा साटफेर गरी किनेको जग्गा पनि मन्त्री खड्काले सार्वजनिक गरेका छन् । खड्काको विभिन्न बैंक तथा वित्तीय संस्थामा १ करोड ३३ हजार रुपैयाँ बचत छ ।

खड्काले अमरदीप सहकारीमा ५१ लाख ५० हजार रुपैयाँ र जन्मभूमि एजुकेशन फाउण्डेसन प्रालिमा ५ लाख सेयर देखाएका छन् । उनले उज्ज्वल खड्कालाई ६० लाख रुपैयाँ र हरिबहादुर थापालाई २५ लाख रुपैयाँ ऋण दिएको विवरण सर्वजनिक देखिएका छन् । खड्कासँग श्रीमतीको नाममा ४२ लाखको गाडी छ ।

मुख्यमन्त्रीको सम्पत्ति कति ?

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरमा श्रीमतीको नाममा ५ लाखको जग्गा र १५ लाख लगानी बनेको साढे दुई तले पक्की घर छ ।

तनहुँको ३ ठाउँमा जग्गा देखाएका मुख्यमन्त्री पोखरेलले काठमाडौंको साङ्लामा १५ लाख ऋण लिएर जग्गा किनेको उल्लेख गरेका छन् । कृषि विकास बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएका मुख्यमन्त्री पोखरेलसँग ५ तोला सुन छ । एभरेस्ट बैंकमा तलबको रकम ५ लाख रुपैयाँ वचत भएको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीसहित माथि ५ मन्त्री सबै नेपाली कांग्रेसका हुन् । माओवादीबाट अर्थमन्त्री रामजी बरालसहित ४ जना मन्त्री छन् ।

अर्थमन्त्री रामजी बरालसँग पोखरा महानगरपालिका– २२ मा १ रोपनी ४ आना जग्गा छ । उनले ४७ लाख रुपैयाँमा अर्को जग्गा किनेका छन् । अर्थमन्त्री बरालले ३ लाख रुपैयाँ नगद र ४ तोला सुन देखाएका छन् । एभरेस्ट बैंकमा तलबबापतको ३ लाख रुपैयाँ बचत छ ।

अर्थमन्त्री बरालको नेपाल पूर्वाधार विकास बैंकको ६० कित्तासहित विभिन्न कम्पनीमा १ सय कित्ता शेयर लगानी छ । उनले एनआइसी एसिया बैंकमार्फत १ करोड रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । बरालले ऋण लिनुको कारण भने खुलाएका छैनन् । बरालका परिवारका नाममा २ मोटरसाइकल, १ स्कुटर र ६० हजार रुपैयाँको गाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीसँग लमजुङको दुधपोखरीमा १ लाख ५३ हजार वर्गमिटर जग्गा र त्यहाँ बनेको घर छ ।

जनयुद्धमा श्रीमान गुमाएकी मधुमायाले शहीद परिवारलाई सरकारले दिएको राहतबापतको रकमबाट चितवनको २ ठाउँ र मकवानपुरको १ ठाउँमा जग्गा किनेको उल्लेख गरेकी छन् । अधिकारीसँग ३ तोला सुन, विभिन्न बैंकमा ८ लाख ६० हजार नगद र एउटा स्कुटर रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।

वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापासँग स्याङ्जा विरुवामा २ वटा घर छ । पैतृक तथा खरीद गरेको उल्लेख गरेका मन्त्री थापाले छोराछोरीको रेमिट्यान्सबाट पोखरा महानगरपालिका–१४ मा ४० लाख रुपैयाँमा जग्गा किनेको बताएका छन् ।

उनीसँग ३० तोला सुन र २० तोला चाँदी छ । विभिन्न बैंकमा १५ हजार नगद देखाएका थापाले ६१ लाख ५० हजार रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । जग्गा खरीदका लागि ऋण लिएको थापाले बताएका छन् । थापासँग २५ वटा बाख्रा, ७५० बोट सुन्तला, ६ रोपनी जग्गामा छोराले चलाएको नर्सरी रहेको छ ।

जनता समाजवादीका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यको गोरखा पालुङटारमा बुवाको नाममा पुख्र्यौली संयुक्त घर जग्गा छ । श्रीमती गंगा सुनारको नाममा पालुङटारमै ३ लाखको जग्गा छ भने ८ तोला सुन र ५ तोला चाँदी रहेको मन्त्री आचार्यले सार्वजनिक गरेका छन् ।

मन्त्री आचार्यको विभिन्न बैंकमा ५० हजार बचत छ भने कृषि विकास बैंक र प्रभु बैंकबाट ५० लाख ऋण लिएका छन् । ऋणबाट फर्निचर उद्योग खोलेको बताएका आचार्यले २० लाख रुपैयाँ तिरेका छन् ।

मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मुख्यमन्त्री पोखरेलसहित मन्त्री कुमार खड्का, मधुमाया अधिकारी, हरिशण आचार्य र राजीव गुरुङ –दीपक मनाङे)ले जेठ २९ गते शपथ लिएका थिए । बाँकी ६ जना मन्त्री साउन ८ गते सपथ लिएका थिए ।

युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले म्याद नाघिसक्दा पनि अझै पनि सम्पत्ति विवरण बुझाएका छैनन् । माओवादीका भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?