+
+

सब स्टेशनमा क्षति पुगेपछि परासीमा विद्युत आपूर्ति बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १२ गते १३:४२

१२ भदौ, बुटवल । वर्षा र डुवानले विद्युत सबस्टेशनमा क्षति पुर्‍याउँदा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा विद्युत आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार वर्षा र डुवानका कारण परासी सब स्टेशनको ब्रेकर लगायतका अन्य प्राविधिक उपकरणमा पानी जमेको छ । त्यसैले तत्कालै सब स्टेशनबाट विद्युत आपूर्ति गर्ने अवस्था छैन ।

यद्यपी विद्युत आपूर्तिका लागि अहिले गण्डक पावर हाउस शब स्टेशन, बर्दघाट शब स्टेशन र सुनवल बजार क्षेत्रको विद्युतबाट परासी वितरण केन्द्र अन्तर्गतका केही ग्राहकलाई विद्युत आपूर्ति गरिएको प्रमुख श्रीवास्तवले बताए ।

वर्षा र डुवानका कारण परासीस्थित सब स्टेशनको कम्पाउण्ड वालमा क्षति पुग्दा पानी स्टेशनभित्र पसेर विद्युत आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ब्रेकरसहित अन्य प्राविधिक उपकरणमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

परासी वितरण केन्द्रका प्रमुख श्रीवास्तवका अनुसार परासी सब स्टेशनबाटै विद्युत आपूर्ति गर्न केही दिन समय लाग्न सक्छ । यद्यपि परासी सब स्टेशन सञ्चालनका जनशक्ति व्यवस्थापन गरी मर्मतको काम शुरु गरेको उनले बताए ।

परासी वितरण केन्द्र अन्तर्गत हाल करिव ४४ हजार ग्राहक रहेका छन् । जसमध्ये अहिले तत्कालका लागि ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस सब स्टेशन, बर्दघाट सब स्टेशन र सुनवल बजार क्षेत्रको विद्युत आपूर्तिबाट परासी वितरण केन्द्र अन्तर्गतका ग्राहकलाई विद्युत आपूर्ति गरिएको हो ।

तर धेरै क्षमतामा विद्युत खपत गर्ने उद्योग सञ्चालनमा कठिन हुने प्राधिकरणले जनाएको छ । परासी वितरण केन्द्र अन्तर्गत सूर्यपुरा, सुनवल, महेशपुर र बन्जरियास्थित कार्यालय पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?