+
+

पहिरोले बुटवलमा ७ घर पुरिए, ५० घरमा क्षति

टोपराज शर्मा टोपराज शर्मा
२०७८ भदौ १४ गते १६:२२

१४ भदौ, बुटवल । बुटवलको ज्योतिनगरमा चुरे पहाडबाट पहिरो खस्दा ७ घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा आइतबार बिहान पनि पहिरोले तीन घर पुरिएका थिए । वर्षा नरोकिएकाले सोमबार पनि वस्तीमा पहिरो झरेको हो ।

चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको र अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको छ । पहिरोबाट विस्थापित धेरैजसो आफन्तको आश्रय लिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

ज्योतिनगर क्षेत्रलाई उपमहानगरले असुरक्षित क्षेत्र घोषणा गरी सुरक्षित हुन आग्रह गरेको तर अटेर गर्दा क्षति भएको प्रवक्ता रेग्मीले बताए । ज्योतिनगरमा २३ वर्षअघि पनि पहिरो जांदा ५७ घरमा क्षति भएको थियो र पहिरोबाट विस्थापितलाई बुटवलको तामनगरमा स्थानान्तरण गरिएको थियो ।

तर पछि फेरि वस्ती बसेको थियो । पहिरोले पुरिएका घर मध्ये केही वनको जग्गामा बनेका घर र केही जग्गाधनी पुर्जा प्राप्त जग्गा भएको प्रवक्ता रेग्मीले बताए ।

सिंगो बुटवल नै जोखिममा

पहिरो नरोकिए बुटवलको गोलपार्क र ट्राफिकचोक क्षेत्रसम्म क्षति पुग्न सक्ने जोखिम बढेको वातावरणविज्ञहरुले आशंका गरेका छन् । भूगोल विषयका प्राध्यापक डा. भोजराज कडेरियाले बुटवलको ज्योतिनगर पहिरोको उच्च जोखिमयुक्त क्षेत्र भएकाले त्यहांको वस्ती स्थानान्तरण नै उपयुक्त विकल्प हुने सुझाउँछन् ।

वन क्षेत्र अतिक्रमण गरी पक्की घरहरु बनाइंदा र वातावरणीय पक्षलाई बेवास्ता गरी सडक,विद्युत,खानेपानी पुर्वाधार विस्तार हुंदा चुरे क्षेत्र खल्बलिएर कमजोर बन्न पुगेको कडेरियाले बताए । ‘चुरे संरक्षण नगर्ने हो भने त्यसले सिंगो बुटवल नै जोखिममा पर्छ’ उनले भने ।

 

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?