+
+
Shares
विचार :

बूढीगण्डकीको बाढीले उठाएका थप प्रश्नहरू

उङ्गिलुङ खोलाको छाल तुलनात्मक रूपमा बढी भएको हुँदा पहिरोले थुन्दा बनेको ठूलो ताल फुटेर त्यत्रो ठूलो बाढी आउने सम्भावना कमै देखिए तापनि अर्को प्रमाण नभेटेसम्म त्यसलाई नकार्न सकिँदैन।

प्रा.डा. नरेन्द्रराज खनाल प्रा.डा. नरेन्द्रराज खनाल
२०८३ असोज २७ गते ९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २५ असोजमा बूढीगण्डकीमा लेदोसहितको बाढी आएको र पूर्वसूचना पाएपछि प्रभावित बासिन्दा सुरक्षित हुँदा मानवीय क्षति न्यून भएको छ।
  • सन् १९६८ मा बूढीगण्डकीलाई पहिरोले थुनेर फुट्दा १४.६१ मिटर उचाइको बाढी आएको र आरुघाट क्षेत्रमा पुलसहित २४ घर बगेका थिए।
  • यसपटक बूढीगण्डकीको बाढीले पुल, जलविद्युत् आयोजनाको कर्मचारी आवास, सडक र घरहरूमा ठूलो भौतिक क्षति पुर्‍याएको छ।

गत २५ असोजमा बूढीगण्डकीमा लेदोसहित ठूला ढुङ्गाहरू पल्टाउँदै आएको बाढीले सन् २०२५ र २०२६ मा भोटेकोशी/त्रिशूली बाढीको झल्को दियो। यद्यपि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका फोटो र भिडियोहरू हेर्दा गत १० भदौको त्रिशूलीको बाढीभन्दा कम गति र उचाइको बाढीको रूपमा यसलाई लिन सकिन्छ।

सन् २०२५ को भोटेकोशी/त्रिशूलीको बाढी प्युरेपु हिमनदीमाथिको हिमताल फुटेर र सन् २०२६ को बाढी हिम–चट्टानी पहिरोका कारणले आएको बाढी थियो। बूढीगण्डकीको हालसम्म अनुमान गरिएअनुसार उङ्गिलुङ खोलाको किनारमा ठूलो पहिरो गई खोला थुनिएर ताल बनेको र सो ताल फुटेर बाढी आएको भन्ने बुझाइ छ।

उङ्गिलुङ नदी स्यार नदीको सहायक नदी हो र यो सहायक नदीको माथिल्लो भाग हिमाच्छादित भए तापनि स्यार नदीको जलाधार क्षेत्रमा जस्तो हिमनदी, हिमताल र हिउँ-बरफ-तुसारोले बनाएको हिमखाल्डा छैनन्। उङ्गिलुङ खोलाको छाल तुलनात्मक रूपमा बढी भएको हुँदा पहिरोले थुन्दा बनेको ठूलो ताल फुटेर त्यत्रो ठूलो बाढी आउने सम्भावना कमै देखिए तापनि अर्को प्रमाण नभेटेसम्म त्यसलाई नकार्न सकिँदैन।

पहिरोको माटोको रङ गाढा खैरो-पहेंलो देखिएको छ। बाढीमा आएको लेदो कालो भएकाले अनुमान गरिएको पहिरोको ठाउँ अन्त कतै हुन सक्ने सम्भावना पनि देखिन्छ। उङ्गिलुङ खोलाले स्यार खोला थुनेर ताल परेको र पछि फुटेको हुन सक्ने सम्भावना पनि छ। थुनिएको ठाउँ, ताल परेर पानीले ढाकेको सतहका चिह्नहरूको नक्साङ्कन एवं यकिन नगरी अहिले नै ‘यसै हो’ भन्न सकिने स्थिति भने छैन।

गत २५ असोजमा बूढीगण्डकीमा लेदोसहित ठूला ढुङ्गाहरू पल्टाउँदै आएको बाढीले सन् २०२५ र २०२६ का भोटेकोशी/त्रिशूली बाढीको झल्को दियो। बूढीगण्डकीको बाढीमा पूर्वसूचना र चेतावनीले गर्दा मानवीय क्षति न्यून रहे पनि भौतिक क्षति भने निकै ठूलो छ।

विगतमा पनि बूढीगण्डकी कहिले थुनिएर त कहिले फुटेर बाढी आएका थिए। सन् १९६७ मा तारेभिर खसेर बूढीगण्डकीको पानी आंशिक रूपमा ३ दिनसम्म थुनियो। तर थुनिएको पानी फुटेर आएको बाढीले कुनै क्षति पुर्‍याएको सुनिएन। पहिरोको कारणले भने नौ जना मानिसको मृत्यु भएको थियो।

त्यसको एक वर्षपछि सन् १९६८ मा लाकुबेँसी भन्ने ठाउँमा बूढीगण्डकीलाई पहिरोले थुनेको थियो। त्यस दिन बिहान १०:३० बजेदेखि दिउँसो २ बजेसम्म खोला थुनिएको थियो। अगस्ट १ मा ४ मिटर रहेको बूढीगण्डकीको पानीको सतह अगस्ट २ मा एक्कासि ०.९ मिटरमा घट्यो।

पहिरोले बनाएको बाँध फुटेपछि खोलामा १४.६१ मिटर उचाइको बाढी आएको थियो र खोलाको उच्चतम बहाव ५ हजार २१० क्युबिक मिटर प्रतिसेकेन्ड थियो, जुन वर्षको औसत अधिकतम बहावभन्दा ६.९३ अङ्कले बढी थियो। सन् १९६८ को यो बाढीले पहिरोले बनाएको बाँध फुटेको ठाउँभन्दा करिब १७ किलोमिटर तल आरुघाट क्षेत्रमा एउटा पुल र २४ वटा घर बगाएको थियो।

यसपटक बूढीगण्डकीमा बाढी आएको पूर्वसूचना र चेतावनीलाई प्रभावित क्षेत्रका बासिन्दाले विश्वास गरेर सुरक्षित हुँदा हताहत न्यून रहेको देखियो। प्रभावित क्षेत्रका स्थानीयले अनलाइनखबरसँगको कुराकानीमा पनि पूर्वसूचना पाएपछि हतार-हतार सुरक्षित स्थानमा लागेको बताएका छन्।

सरोकारवालाहरूलाई समयमै विश्वासिलो पूर्वसूचना तथा चेतावनी दिन सके मानवीय क्षति कम गर्न सकिने कुराको उदाहरण यस वर्षको बूढीगण्डकी बाढीको घटना र सन् २०२५ को भोटेकोशी/त्रिशूलीको बाढीलाई लिन सकिन्छ। सन् २०२६ को बाढीका बेला भने पूर्वसूचना र चेतावनी प्रभावकारी हुन सकेन।

मानवीय क्षति कम भए पनि बूढीगण्डकीको भौतिक क्षति भने कम छैन। पुल, जलविद्युत् आयोजनाको कर्मचारी आवास, सडक र घरहरू भत्किए/बगाइए। यस्ता अचानक ठूलो शक्तिमा आउने बाढीको जोखिम कम गर्न सडक-पुलहरूको निर्माण गर्ने ठाउँहरूका जोखिमको राम्रो अध्ययन गरी सुरक्षित ठाउँको पहिचान गर्ने, त्यस्ता ठाउँहरूमा सडक-पुलको विकास गर्ने, खोलाको बाढीको तहको जानकारी लिई पूर्वाधारको डिजाइन गर्ने र भूउपयोगका प्रावधान बनाई लागू गर्ने कार्यहरू गरिनुपर्दछ। साथै सबै सरोकारवालाहरूले त्यसको कार्यान्वयनमा सहयोग पुर्‍याउनुपर्दछ।

लेखक
प्रा.डा. नरेन्द्रराज खनाल

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगोल विभागका पूर्वप्रमुख खनाल नेपालका एक वरिष्ठ भूगोलविद् र विपद् व्यवस्थापनविद् पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?