Comments Add Comment

मनसुनजन्य विपद : जेठ महिनायता ६६ जनाको मृत्यु, ४० जना बेपत्ता

सिन्धुपाल्चोकमा थप ५३ घर क्षति, मेलम्चीको मुहानसम्म पुग्न वैकल्पिक सडक बनाउन निर्देशन

फाइल तस्वीर

१८ साउन, काठमाडौं । गत जेठ महिनायता मनसुनजन्य विपतका कारण ६६ जनाको मृत्यु भएको र ४० जना बेपत्ता भएका छन् । घटनामा ८१ जना घाइते भएका छन् ।

यो तथ्यांक गृहमन्त्री बालकृष्ण खाँणले सोमबारको राष्ट्रियसभा बैठकमा प्रस्तुत गरेका हुन् ।

मन्त्री खाँणका अनुसार मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्की लगायतका ५५ जिल्ला प्रभावित भएका छन् । बिभिन्न ४० जिल्लामा ६१९ घर पूर्णरुपमा र १६२ घर आंशिक रुपमा क्षति भएको मन्त्री खाँणले जानकारी दिए ।

गत असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्के नदीमा आएको बाढीबाट ५ जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएका थिए । ३३८ घर पूर्णरुपमा क्षति भएको छ भने ७ वटा पुल, १४ वटा झोलुङ्गे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवनमा क्षति पुगेको छ । सोही दिनको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ ।

मेलम्चीमा थप ५३ घर क्षति, वैकल्पिक सडक बनाउन निर्देशन

जनजीवन सामान्य अवस्थामा फर्किंदै गर्दा यही साउन १६ र १७ गते राति फेरि आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा थप क्षति पुर्याएको छ । लेदो, गेग्रानसहितको बाढीले ५३ वटा घर, एउटा पक्की पुल, एउटा झोलुङ्गे पुल र एउटा सामुदायिक भवनमा क्षति भएको गृहमन्त्री खाँणले जानकारी दिए ।

हेलम्बु क्षेत्रमा पुग्ने राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । उक्त स्थानमा जानका लागि वैकल्पिक बाटोको रुपमा काठमाडौं, सुन्दरीजल, पाटीभञ्ज्याङ, चित्रे, कुटुम साँगा हुँदै मेलम्ची खानेपानी मुहानसम्म पुग्ने सडक मार्ग सन्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिइएको मन्त्री खाँणले बताए ।

बाढीको कारण पत्ता लगाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालयका भूगर्भ विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थापन पुल्चोकका विज्ञहरुको टोली अवलोकनका लागि गएको थियो ।

यो पनि पढ्नुहोस बाढीको स्रोतमा पुग्न सकेन विज्ञ टोली, नदी किनारको बस्ती सार्न सुझाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment