Comments Add Comment

म्यूजिक भिडियो रिलिज कार्यक्रममा फिल्मकै झल्को दिने तामझाम र खर्च

साउनका पछिल्ला २ शनिबार मात्र काठमाडौंको वन सिनेमाज् हलमा २ वटा कार्यक्रम आयोजना गरियो । यी दुबै कार्यक्रम चलचित्र सम्बन्धी नभएर म्युजिक भिडियोको थियो । विगत डेढ बर्षदेखि चलचित्र निर्माण, प्रदर्शन नै ठप्प हुँदा यसको गतिविधी पनि शुन्य जस्तै छ । चलचित्रका कार्यक्रम आयोजना गर्दै आएका केही चलचित्र हलहरुलाई यसले प्रभाव त पारेको छ नै । एकातिर चलचित्र रिलिज नहुनु, अर्कोतिर चलचित्रका कार्यक्रम पनि शुन्य हुँदा यसको प्रभाव सबैतिर परेको छ ।

तर, चलचित्रका गतिविधी शुन्य भएपनि म्यूजिक भिडियोका गतिविधीले भने रंग पत्रकार र कलाकारको व्यस्तता बढाइदिएका छन् । गएको शनिबार नयाँ बाँनेश्वरको वान सिनेमाज्मा ‘संझिनी पानी छम्किनी’ बोलको गीतको कार्यक्रम आयोजना भयो । २ घन्टा ढिलो सुरु भएको यो कार्यक्रममा नायक भूवन केसी, निर्देशक तथा नायिका दीपाश्री निरौलादेखि गीत र भिडियोसँग सम्बन्धित गायक–गायक, प्राविधिकहरु पुगे । चलचित्रको ट्रेलर वा गीत रिलिज कार्यक्रममा जस्तै भूवन र दीपा छमछमी नाचे । गायक र गायिकाले गीत गाए ।

ढिलो सुरु भएपनि गायक तथा निर्माता सम्राट चौलागाँइले कार्यक्रमलाई भव्यता दिन कुनै कसर बाँकी राखेनन् । वान सिनेमाज्ले अहिले म्यूजिक भिडियो कार्यक्रम आयोजना गरेको १५ देखि २० हजार रुपैयाँ लिदै आएको छ । यसको अर्थ, १० लाख भन्दा बढी लगानी गरेर भिडियो बनाएका गायक चौलागाँइले कार्यक्रम आयोजना गर्न पनि करिब ५० हजार खर्च गरे । उनको यो तामझामले पक्कै पनि सुस्ताएको सांगीतिक क्षेत्रको माहोललाई केही गती दिन सफल भयो ।

वान सिनेमाज्मै एक साता अगाडि नायक पल शाह र नायिका मलिका महत्त अभिनित ‘तिम्रो मनमा ए कान्छा’ बोलको गीतको भिडियो रिलिज गरियो । यो कार्यक्रमलाई भव्य बनाउन केन्द्र मोशन पिक्चर्सले राम्रै पैसा खर्च गर्यो । कार्यक्रममा गायक, गायिका, मोडलदेखि चलचित्र क्षेत्रका केही अतिथीहरु पनि पुगे । यो कार्यक्रम आयोजना गर्न पनि केन्द्रले सम्राटले जस्तै ५० हजार बढी रकम खर्च गरेको छ ।

संगीतकार अर्जुन पोखरेलले निर्माण गरेको ‘धर्ती आकाश’ बोलको गीतको कार्यक्रम केही साता अगाडि एफक्यूब हलमा आयोजना भयो । यो गीत रिलिज कार्यक्रमका लागि अर्जुनले एफक्यूब हललाई २५ हजार रुपैयाँ तिरेका छन् । उसो त एफक्यूबले कार्यक्रम आयोजना गर्नका लागि सुरुमा ५० हजार रुपैयाँ डिमाण्ड गरेको अर्जुनले बताए । खाजा र हल चार्ज सहित ५० हजार खर्च गरेका अर्जुनले गीत र भिडियो निर्माणमा ५ लाख खर्च भएको बताए ।

करिब ३६ लाख भ्यूज बटुलेको यो गीतबाट आजसम्म अर्जुनलाई २१ सय डलर आम्दानी भएको छ ।

यसरी, नेपाली चलचित्रका कार्यक्रम ठप्प रहेको समयमा म्यूजिक भिडियोका मेकरहरुले चलचित्र भवनमै राम्रै रकम तिरेर कार्यक्रम आयोजना गर्न थालेका छन् । चलचित्र भवनका विभिन्न स्थानमा म्यूजिक भिडियोका पोष्टरहरु झल्किएका छन् ।

कोरोना महामारीपछि नेपाली मनोरञ्जन क्षेत्रलाई अगाडि बढाउन म्यूजिक भिडियो नगरीले ठूलो योगदान गरेको कुरा विर्सन हुँदैन । दर्शकले चलचित्र हेरेर मनोरञ्जन गर्न नपाइरहेको समयमा म्यूजिक भिडियो नगरीले दर्शकलाई होल्ड गरेको प्रष्ट छ ।

उसो त, भिडियोबाट लगानी फिर्ता गर्न सक्ने भाग्यमानी निर्माता वर्षमा आधा दर्जन पनि छैनन् । तर, महंगा कलाकार लिएर, महंगो सेटमा, महंगो टिमसँग महंगो रकम खर्च गरेर भिडियो बनाउन मात्र होइन, महंगै रकम खर्च गरेर कार्यक्रम आयोजना गर्न पनि भिडियोका लगानीकर्ताहरुले कञ्जुस्याँई गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment