Comments Add Comment

गण्डकीका चौथो प्रदेश प्रमुख पृथ्वीमानले गरे पदबहाली

१८ साउन, पोखरा । गण्डकीका नयाँ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै १२ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेकी थिइन् ।

पदबहाली गर्दै प्रदेश प्रमुख गुरुङले संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न संविधानलाई आत्मसात गर्दै जिम्मेवारी बहन गर्ने बताए । संघीय व्यवस्थालाई कमजोर हुन नदिने उनले प्रतिवद्धता जनाए ।

गण्डकीमा यसअघि २० वैशाखमा अमिक शेरचनलाई पदमुक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

संघीय सरकार परिवर्तन भएपछि देउवा नेतृत्वको सरकारले ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ नियुक्त गरेको हो ।

गण्डकीमा पृथ्वीसुब्बा नेतृत्वको सरकार ढलेर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ । गण्डकीमा कांग्रेस पृष्ठभूमिकै पृथ्वीमान प्रदेश प्रमुख बनेर आएका छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरलाई पदमुक्त गर्दै माओवादी र एमाले मिलेर बनेको नेकपा सरकारबाट नियुक्त अमिक शेरचनले २०७६ कात्तिक २० गते पदभार सम्हालेका थिए ।

नेकपा विभाजित भएपछि शेरचनलाई पदमुक्त गरी पौडेललाई प्रदेश प्रमुख बनाइएको थियो । शेरचन अहिले फेरि लुम्बिनी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङसँगै एकै दिन नियुक्त भएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी प्रमुख फेरिनेमा गण्डकी पहिलो छ । गण्डकीमा चौथो पटक प्रदेश प्रमुख फेरिएका हुन् ।

संघ तथा प्रदेशको निर्वाचनलगत्तै २०७४ माघ ३ मा देउवा नेतृत्वको सरकारले पहिलो पटक बाबुराम कुँवरलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । त्यसपछि ओलीको नेतृत्वमा नेकपा सरकार बनेपछि २०७६ कात्तिकमा कुँवरलाई हटाउँदै अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

संविधानको धारा १६३ मा राष्ट्रपतिले पदावधि सकिनुअघि पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि ५ वर्षको हुने उल्लेख छ । तर, प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २ पटक प्रदेश प्रमुख फेरेको थियो भने अहिले देउवा नेतृत्वको सरकारले पनि पुरानालाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख पठाएको छ ।

नयाँ प्रदेश प्रमुख पृथ्वीमानलाई स्वागत गर्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको मर्म र भावनाअनुसार प्रमुखबाट अभिभावकीय भूमिका प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment