Comments Add Comment

सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज हुन्छ : अर्थमन्त्री शर्मा

१९ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ्ग नहुने समस्या अन्त्य गर्ने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

‘चेक नचल्ने नियम खारेज गर्छु, सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बैंक तथा गाउँ गाउँमा रहेका लघु वित्त कम्पनी मार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु’, उनले भने । सहकारी बैंकहरुले नाफाको लागि प्रतिस्पर्धा नगर्न उनले सुझाव दिए । ‘उत्पादन र रोजगारी सृजनामा प्रतिस्पर्धा गर्नुस्’, उनले भने ।

उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकको साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने उनको भनाइ छ । उत्पादनमुखी अर्थतन्त्रमा टेवा पुर्याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्ने भन्दै उनले सो कार्यका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्ने आश्वासन समेत दिए ।

उत्पादनमा जोड दिंदा त्यसले रोजगारी सिर्जना गर्ने भन्दै उनले सहकारी संस्थाहरूले नाफाको प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरीबी अन्त्य गर्ने तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।

ऋण प्रवाहमा रहेको असमानता समेत हटाउन पहल गरिने मन्त्री शर्माको भनाइ छ । ‘गाडी किन्ने कर्जामा थोरै ब्याज लाग्ने तर गरीबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ’, उनले भने । उनले कर्जा प्रवाहमा व्याजदर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघु वित्त संस्थाहरुलाई आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल, पत्रकार शर्मिला ठकुरी, राष्ट्रिय सहकारी बैंकका उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको छ । मंगलवार शुरु भएको ‘सहकारीमा लघु वित्त सम्मेलन–२०७८’ बुधबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment