Comments Add Comment

अफगानिस्तान युद्ध : सर्वसाधारण घरभित्रै बन्धक, कयौं विस्थापित

२० साउन, काठमाडौं । पछिल्लो समय चरमपन्थी संगठन तालिबान र सरकारी सेनाबीच युद्ध चर्किएसँगै अफगानिस्तानको लस्कर गाह सहरका वासिन्दा आतंकित छन् ।

धेरै मानिस घरभित्रै बन्धक बनेका छन्, केही मानिस ज्यान बचाउन सहर छाडेर भागेका छन् । लस्करगाहका एक स्थानीय भन्छन्, ‘शवहरु सडकमा छरप्रष्ट छन् । उनीहरु सर्वसाधारण हुन् वा तालिबानका लडाकु हुन् भन्ने हामीलाई थाहा छ्रैन ।’ उनका अनुसार दर्जनभन्दा धेरै परिवार घर छाडेर भागेका छन् र हेल्मण्ड नदीको किनारमा विस्थापित भएका छन् ।

धेरै अफगानी नागरिक पनि शवहरु सडकमै देखिएको बताउँछन् । हेल्मण्ड प्रान्तको राजधानी सहरमा देखिएको यो दृश्यले अफगानिस्तानमा पछिल्लो समय युद्ध चर्किएको संकेत दिन्छ । हेल्मण्ड अमेरिका र बेलायती सैन्य अभियानको केन्द्र थियो । तर, विदेशी सेना फिर्ता जान थालेसँगै तालिबानले अफगानिस्तानको धेरै क्षेत्रमा कब्जा जमाइसकेको छ ।

संयुक्त राष्ट्रसंघ र अन्य एजेन्सीहरुले अफगानिस्तानमा मानवीय संकट गहिरिन सक्ने चेतावनी दिएका छन् । मंगलबार राष्ट्रसंघले उल्लेख गरेअनुसार सोमबार लस्कर गाह सहरमा कम्तीमा ४० जना सर्वसाधारण मारिएका छन् ।

अफगानिस्तानको सेनाले सर्वसाधारणलाई लस्कर गाह सहर छाड्न आग्रह गरेको छ । २० वर्षअघि अमेरिकी सेनाको आक्रमणपछि धपाइएको तालिबानसँगको युद्ध चर्किएसँगै अफगानिस्तानको सेनाले यस्तो आग्रह गरेको हो ।

त्यस्तै तालिबानले अफगानिस्तानको दक्षिणी क्षेत्र कन्दाहारलाई पनि आफ्नो कब्जामा लिने प्रयास गरिरहेको छ । यो क्षेत्र पनि पहिला तालिबानको बलियो पकड भएको क्षेत्र हो ।

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा पनि युद्ध चर्किएको छ ।

पछिल्लो केही दिनदेखि लस्कर गाहमा युद्ध जारी छ । युद्धको क्रममा तालिबानले धेरै जिल्लामा कब्जा जमाएको सञ्चारमाध्यमहरुले बताएका छन् । ‘हामी अहिले कठिनपूर्ण दिनको सामना गरिरहेका छौं’, लस्कर गाह सहरका एक विद्यार्थीले भने, ‘तालिबानले जमिनबाट आक्रमण गर्छ अनि सरकारी सेनाले आकाशबाट ।’

आइतबार अर्का एक व्यक्तिले भनेका थिए, ‘अहिले सडकमा तालिबानका लडाकुहरु देख्न सकिन्छ । तालिबानको उपस्थितिले यहाँका मानिसहरु अचम्ममा परेका छन् ।’

‘पसलहरु बन्द छन् र सरकारी सेनाका गाडीहरु सडकमा नै ध्वस्त पारिएको अवस्थामा छन् । गभर्नरको कार्यालय र राष्ट्रिय सुरक्षा निर्देशनालयको केही मिटर नजिकै युद्ध चलिरहेको छ’, उनले थपे, ‘केन्द्र सरकारले हालै यो लस्कर गाहमा नयाँ कमाण्डो टोली परिचालन गरेको बताएको छ तर हामीले उनीहरुलाई देखेनौं ।’

सयौं सेना लस्कर गाह सहरमा परिचालन गरिएको सरकारले बताएको छ । गत साता हेल्मण्ड प्रान्तीय परिषद्का प्रमुख अताउल्लाह अफगानले युद्ध नियन्त्रणभन्दा बाहिर गइरहेको बताएका थिए ।

अफगानिस्तान र अमेरिकी सेवाको हवाई आक्रमणका बीच पनि मुलुकमा नियन्त्रण बढाइरहेको छ । केही प्रतिवेदनले अहिले तालिबानी लडाकुहरु घरभित्र, पसल र बजारमा लुकिरहेको देखाएको छ । मानिसहरु पनि सडकमा युद्ध चलिरहेकाले आफ्नै घरमा थुनिएर बसेका छन् ।

लडाकुहरुले सामान्यतया मानिसहरुलाई लाउडस्पिकर मार्फत भाग्नको लागि चेतावनी सन्देश दिएका छन् । तर कहिलेकाहीँ उनीहरु आफैं घरभित्र छिर्छन् यस्तोमा स्थानीयलाई आफ्नो ज्यान बचाएर भाग्नको लागि केही मिनेटको समय मात्र बाँकी रहन्छ । अन्यथा आफ्नै घरमा दुईतर्फको युद्धमा परेर मारिने जोखिम हुन्छ ।

‘तालिबानले हामीलाई आधा घण्टामा घर नछाडे प्रहरी र अफगानी सेनाको रुपमा गन्ने बतायो’, एक लस्कर गाहका एक विद्यार्थीले भने । सन् १९९० को दशकमा तालिबानले सार्वजनिक रुपमा मानिसहरुलाई मृत्युदण्ड दिन्थ्यो र महिलालाई शिक्षा र रोजागारीमा रोक लगाएको थियो ।

तालिबानले अहिले आफूहरु परिवर्तन भइसकेको दाबी गरेको छ । तर, अफगानिस्तानका मानिसहरु भने तालिबान आएको अवस्थामा त्यस्तै कानुन जारी हुन सक्ने आशंका गर्छन् । मानव अधिकारवादी संस्थाको प्रतिवेदनले पनि तालिबानले सरकारको समर्थन गर्ने नागरिकमाथि पनि आक्रमण गर्ने गरेको देखाएको छ ।

युद्धको कारण अहिले विस्थापित भएका हजारौं मानिसले खाना, पानी र औषधिको अभाव सामना गरिरहेका छन् । विस्थापितहरु भएको स्थानमा सहयोगी संस्थाको पहुँच पुगेको छैन । स्वास्थ्य केन्द्र र अस्पतालमा पनि मृत्यु भएका मानिसहरुको व्यवस्थापन गर्ने क्षमता छैन । केही स्वास्थ्य केन्द्रहरु ध्वस्त पारिएको छ भने धेरै स्वास्थ्य केन्द्र निष्क्रिय छन् ।

लस्कर गाहका एक डाक्टर मासुद खान गम्भीर चोट लागेका मानिसको संख्या आफ्नो अस्पतालमा बढिरहेको बताउँछन् । यो संख्या उच्च गतिमा बढिरहेको छ । अझै धेरै मानिस अस्पतालसम्म पुग्न नसकेको उनको अनुमान छ । ती डाक्टरका अनुसार चिकित्सकीय उपकरणको पनि अभाव देखिन थालेको छ ।

‘अहिले धेरै युद्धमा घाइते भएका मानिसहरु आइरहेका छन् । अहिले जताततै युद्ध चलिरहेको छ’, खानले भने । अहिले सामाजिक सञ्जालमा तालिबानको निरंकुश शासनको समयको भिडियोहरु शेयर भइरहेका छन् र मानिसहरुमा पुनः तालिबान फर्किने आशंका देखिएको छ ।

अमेरिका र बेलायतले तालिबानले युद्ध अपराध गरेको बताएका छन् । पाकिस्तानसँग सीमा जोडिएको स्पिन बोडक सहरमा तालिबानले दर्जनौं मानिसको हत्या गरेको उनीहरुको आरोप छ ।

त्यस्तै अफगानिस्तानको पूर्वी प्रान्त घान्जीमा अल्पसंख्यक सिया समुदायका ४० हजार जनाको हत्या गरिएको एक प्रतिवेदनले देखाएको छ । यद्यपि तालिबानले भने यो आरोप निराधार रहेको बताएको छ ।

अमेरिका र अफगानी सेनाको हवाई आक्रमणमा आम नागरिक मारिएको छवि सुधारको लागि यस्तो आरोप आफूहरुमाथि लगाइएको तालिबानको दाबी छ ।

अहिले अफगानिस्तानको युद्धको क्रममा घरभित्रै थुनिएका मानिससँग केही मात्र विकल्प बाँकी छन् । ‘हामीलाई खानको लागि घरमा न रोटी छ न पानी छ, विद्युत् पनि पूर्णरुपमा बन्द छ’, एक स्थानीय व्यवसायीले भने, ‘मलाई अब कहाँ जाने भन्ने थाहा छैन, सहरका हरेक कुनामा युद्ध चलिरहेको छ’, उनले थपे ।

यसअघि बेलायती सेनाका लागि काम गरेका एक नागरिक आफ्नो जीवन जोखिममा रहेको बताउँछन् । तालिबानले आफूलाई निशाना बनाउन सक्ने उनको भनाइ छ ।

‘मैले तीन पटकसम्म ठेगाना परिवर्तन गरिसकेँ । मेरो आफ्नै घर पनि तालिबानले कब्जा गरेको छ । अहिले उनीहरु त्यहाँ बस्छन् र मलाई खोजिरहेका छन्’, उनले भने ।

‘हामीलाई भविष्यमा के होला भन्ने थाहा छैन तर उनीहरुले मानिसहरु घरघरमा छिरेर यसअघि नेटोको लागि काम गरेका मानिसहरुको खोजी गरिरहेका छन्’, उनले भने ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment