+
+
Shares

कांग्रेसमा महाधिवेशनको नयाँ कार्यतालिका ल्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते १६:३०

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरुले तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिएका छन् ।

सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ । तर क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन हुन नसकेको छ । युवा नेताहरुले त्यसै कारण चौधौं महाधिवेशन अनिश्चित बनेको भन्दै यसले पार्टीको गरिमामा ठूलो क्षति पुगेको बताएका छन् ।

महाधिवेशन समयसीमाको अन्तिम क्षण पुग्दा पनि क्रियाशील सदस्यताको छानबिन गरी अन्तिम रुप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिवद्धता र नियतमाथि समेत प्रश्न उठ्न थालेको उल्लेख गरेका छन् ।

‘विधान र नियमावली अनुरुप न्यायपूर्ण ढंगले क्रियाशील सदस्यताको विवाद समधान गरी धर्ना र अनशनलगायतका गुनासाहरुको सम्बोधन गर्दै तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरियोस्’ उनीहरुले भनेका छन् ।

नेताहरुले विभिन्न राजनीतिक दलबाट नेपाली कांग्रेसमा समाहित हुने नेताहरुले पहिल्यैदेखि कांग्रेसकै समर्थक, सदस्य र शुभचिन्तक रहेका व्यक्तिहरुलाई नै कागजी रुपमा नवप्रवेशी बनाई हजारौं क्रियाशील सदस्यता वितरण गरेको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले वडा तहबाट नै सिफारिसको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन् ।

विधिवत रुपमा महाधिवेशन सम्पन्न नहुने, नेविसंघ, तरुण दल लगायतका भातृ एवं शुभेच्छुक संस्थाहरुको पूर्णता र महाधिवेशन पनि वर्षौंदेखि नगर्ने हो भने नेपाली कांग्रेसको लोकतान्त्रिक छविलाई जनस्तरमा कायम राख्न र नयाँ पुस्ताको ऊर्जा अभिप्रेरित गर्न नसकिने युवा नेताहरुले बताएका छन् ।

यस्ता गतिविधिले आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निष्प्रभावी हुने भन्दै उनीहरुले लोकतन्त्र र कांग्रेसलाई जोगायन सम्पूर्ण पुस्ताको सहभागिता सहितको विधिवत महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन् ।

महाधिवेशनको सुनिश्चितताका लागि दबाव दिन भन्दै गठन गरिएको ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’मा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, मनोजमणि आचार्य, सुवास पोखरेल, डिल्ली सुवेदी, मिथिलेस मिश्र, नारायण भट्टराई, मन्जित ताम्राकार, रिता खनाल, विजुला बर्मा, प्रतिमा गौतमलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?