+
+

उपकुलपति सिंहको मृत्यु भएको विज्ञप्ति निकाल्नेमाथि साइबर अपराध मुद्दा लगाइने

रासस रासस
२०७८ साउन २४ गते ७:३७
उपकुलपति नन्दबहादुर सिंह ।

२४ साउन, कर्णाली  (सुर्खेत) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ ।

उपकुलपति प्रा डा सिंहविरुद्ध शनिबार सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरी ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर विज्ञप्ति निकालिएको थियो ।

विश्वविद्यालयकै लेटरप्याड प्रयोग गरी निकालिएको विज्ञप्तिमा भनिएको छ, “विश्वविद्यालयमा कार्यरत उपकुलपति प्रा डा सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ । हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ । उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने छ ।”

यस कार्यले सिङ्गो विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हत्या गर्ने काम भएको उपकुलपति प्राडा सिंहले बताए । “यस घटनामा को-को संलग्न छन् भन्ने बारेमा अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन सुर्खेत र साइबर अपराध अनुसन्धान केन्द्रीय ब्यूरो काठमाडौँलाई जानकारी गराइसकेका छौँ”, उनले भने, “विश्वविद्यालय र मेरोपछि कुन समूह कसरी लागेको रहेछ भन्ने पर्दाफास अब बिस्तारै हुँदै जान्छ । म गलत छैन र यसमा आतिएको पनि छैन ।”

जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यसबारे जानकारी लिइसकिएको बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न विद्यार्थी सङ्गठनले १८ बुँदै माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । त्यसमा प्रध्यापकहरुले पनि आन्दोलनको समर्थन जनाएका छन् ।

आन्दोलनरत विद्यार्थीसँग विश्वविद्यालयले वार्ता गर्दै आएपनि सफल हुन सकेको छैन । वार्ता गर्ने भन्दै एक साता अघि उपकुलपति प्राडा सिंहको निवास र गाडीमा समेत तोडफोड गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?