Comments Add Comment

अमेरिकामा पुनः देखिन थाल्यो दैनिक एक लाखभन्दा बढीमा कोरोना संक्रमण

२४ साउन, काठमाडौं । अमेरिकामा पुनः दैनिक नयाँ संक्रमितको संख्या एक लाख नाघ्न थालेको छ । अमेरिकाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)को तथ्यांकअनुसार अमेरिकामा केही नियन्त्रणमा देखिएको कोरोना संक्रमण पुनः बढ्न थालेको हो ।

अहिलेसम्म अमेरिकामा ७०.६ प्रतिशत वयस्क नागरिकले कोरोना खोप लगाइसकेका छन् । जसमध्ये ६०.९ प्रतिशतले खोपको पूरा डोज लिइसकेका छन् । यद्यपि अझै पनि लाखौं मानिसले कोरोना खोप लगाउन बाँकी छ । खोप अभियान सुस्त गतिमा चलेको फ्लोरिडा र टेक्सास जस्ता राज्यमा पछिल्लो समय कोरोना संक्रमण बढेको हो ।

सीडीसीकी निर्देशक रेचेल वेलेन्स्कीले अहिलेको मोडलअनुसार धेरैभन्दा धेरै मानिसलाई कोरोना खोप दिन नसक्ने हो भने आगामी दिनमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन सक्ने चेतावनी दिएकी छिन् ।

अमेरिकामा गत वर्षको नोभेम्बरमा पहिलोपटक औसतमा दैनिक नयाँ संक्रमितको संख्या एक लाख नाघेको थियो । जनवरीमा दैनिक नयाँ संक्रमितको संख्या २ लाख ५० हजारसम्म पुगेको थियो । तर, त्यसपछि निरन्तर संक्रमण दरमा कमी आउँदै औसतमा कोरोना संक्रमितको संख्या जुन महिनामा ११ हजारको हाराहारीमा आइपुगेको थियो । त्यसपछि भने संक्रमण बढ्न थाल्यो र त्यसको ६ सातापछि उक्त संख्या एक लाख ७ हजारमा पुग्यो ।

यस्तै अहिले अस्पतालमा भर्ना हुने र मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । यद्यपि यो संख्या खोप अभियान सञ्चालन गर्नुपूर्वको जस्तो भयावह भने छैन । विशेषज्ञहरुले खोप लगाएका र नलगाएका मानिसबीचको भिन्नता देखाएको बताएका छन् । उनीहरुका अनुसार खोप लगाएका मानिसलाई पनि कोरोना संक्रमण हुन सक्छ तर उनीहरुमा गम्भीर लक्षण देखिने सम्भावना भने कम हुन्छ ।

यसअघि केही राज्यका गभर्नरहरुले खोप अभियानमा बेवास्ता गर्दै आएका थिए । तर, संक्रमण बढेसँगै उनीहरुलाई अब खोप कार्यक्रमलाई तीव्रता दिनुपर्छ भन्ने ज्ञान भएको विशेषज्ञहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment