Comments Add Comment

‘कुरा बुझ्नु पर्च’ : कति माधुर्य भाका ?

‘कुरा बुझ्नु पर्च
जसले माया गर्छ
उसलाई जोवन खर्च’

तिख्खर चट्नी जस्तै जिब्रोमा रसाउने सुरम्य शब्दलहर । उस्तै माधुर्य भाका । कथ्य संरचनाको मनोहर दृश्य । प्रकाश सपूतको यो गीत जति सुनेपनि, जति हेरेपनि मन अघाउँदैन । सरल अनि सुपाच्य सांगीतिक खुराक हो, यो । प्रकाशको यो रचना–शिल्प निकै स्वादिलो छ । रसिलो र खँदिलो पनि ।

गीत शान्तिश्री र समीक्षा अधिकारीले गाएका हुन् । म्युजिक भिडियोमा स्वास्तिमा खड्का र आँचल शर्माको दौतरी जमेको छ । यसको शब्द, संगीत प्रकाश सपूतको हो । म्युजिक भिडियोका निर्देशक पनि प्रकाश नै हुन् ।

यसरी प्रकाशले आफुलाई आयमिक रुपमा पेश गरेका छन् । र, हरेक ठाउँमा उनी परिपक्क र रचनात्मक देखिन्छ ।

यतिबेला बजारमा तीजको लहर चलेको छ । भलै तीज आउन अझै केही साता कुर्नैपर्छ । तर, बजारमा तीज गीतको होडबाजी छ । यही मेसोमा प्रकाशले पनि उक्त गीत सार्वजनिक गरेका हुन् । चलनचल्तीको गीतको गञ्जागोलभित्र उनको रचना अलग र विशिष्ठ लाग्छ ।

त्यसो त प्रकाश आफैमा यस्ता स्रष्टा हुन्, जो मौलिक र मर्मस्पर्शी गीत रचना गर्ने क्षमता राख्छन् । गाउँघरमा बोलीचालीको भाषा र भाका टिपेर गीत–संगीत तयार गर्छन् । उत्तिकै मीठास भरेर गाउँछन् । गीतको अन्तर्य झल्कने ढंगले त्यसलाई दृश्यभाषामा उतार्छन् । आफ्नो रचनात्मक अभिव्यक्तिमा संयम र सन्तुलन अपनाउँछन् । त्यसैले त उनको काम खास हुन्छ ।

वैदेशिक रोजगारीले ग्रामिण समाजमा ल्याउने आँधीबेहेरीलाई उनले ‘बोल माया’बाट व्यक्त गरे । यही गीतसँगै उनले आफ्नो सार्वजनिक चिनारी बनाए । त्यसपछि उस्तै सन्दर्भको तर केही रोमाञ्चक भावमा ‘गलबन्दी च्यातियो’ गीत–भिडियो तयार गरे ।

कलकलाउँदो युवती, जो सुदूर सपनामा डुबुल्की मार्दै अगाडि बढिरहेकी छिन् । तर, उनको अस्मिता लुटिन्छ र निर्ममतापूर्वक प्राण–हरण गरिन्छ । समाजमा दबिएको पुरुष कुण्ठा र त्यसभित्रको कुरुप अनुहारलाई प्रकाशले ‘बदला बरिलै’ मा देखाएका छन् । एक स्वैरकाल्पनिक कथाबाट उनले निर्मला पन्त जस्ता कलिला किशोरीहरुमाथि हुने यौन बर्बरता उदांगो बनाएका छन् ।

यही भूगोलमा जन्मिएपनि राज्यले हेलाहोचो गरेर अनागरिक बनाइएका वर्गलाई पनि उनले आवाज दिएका छन् । ‘मेरो पनि हैन र यो देश’ गीत मार्फत उनले दबिएका, हेपिएका, ठगिएका युवाहरुको आवाज घन्काएका छन् ।

यसरी अलग–अलग मुद्दालाई उनले गीत–संगीतमार्फत उनले प्रक्षेपण गरिरहेका छन्, त्यो पनि अत्यान्तै सुमधुर भाकाहरुमा । उनी एउटै शैलीमा अल्झिएका छैनन् । हरेक पटक नयाँ र फरक रचना सहित आएका छन् । यी सबैमा उनको काव्य–शिल्पले एक विशिष्ठ स्थान बनाएको छ ।
पछिल्लो गीत ‘कुरा बुझ्नु पर्च’ त्यसैको सिलसिला हो । तीज संस्कृतिको अन्र्तयलाई झल्काउँदै उनले यो गीत–भिडियो तयार गरेका छन् । न यसमा पुरातन शैलीको विलौना र विरहको गीत गाइएको छ, न विद्रोहको नाममा भद्दा उट्पट्याङ नै । मनोरञ्जनात्मक ढंगले दुई संगीको मनोभाव यसमा पोखिएको छ । गाली र घुर्कीभन्दा माथि उठेर प्रेम, विवाह अनि पारिवारिक जीवनका बारेमा आधुनिक पुस्ताको अवधारणालाई गीतमार्फत पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment