Comments Add Comment

कोरोना संक्रमितले भरिए पोखराका अस्पताल

२६ साउन, पोखरा । पछिल्लो एक सातामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ह्वात्तै बढपछि पोखराका अस्पताल फेरि भरिभराउ हुन थालेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरुवा तथा संक्रामक रोग अस्पतालमा संक्रमितले वेड नपाउने अवस्था आएको छ । पछिल्लो साता संक्रमितको संख्या नपत्याउँदो गरी बढेकाले आईसीयूमा भर्ना हुन आएका संक्रमितले पालो कुर्नुपर्ने अवस्था आएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बराल बताउँछन् ।

अस्पतालमा कोभिड-१९ का बिरामीका लागि ८० बेड छुट्याइएको छ । तर सबै बेडमा बिरामी छन् । ‘पालो कुरेर पनि उपचार नपाउने स्थिति आइसक्यो,’ डा. बराल भन्छन्, ‘गम्भीर प्रकृतिका बिरामी धेरै छन् । बेलैमा ध्यान नदिए झन् स्थिति भयावह बन्छ ।’

उस्तै छ संक्रामक अस्पतालको हालत

सरुवा तथा संक्रामक रोग अस्पतालको आइसोलेसन वार्ड पनि कोभिड-१९ का बिरामीले भरिएका छन् ।

प्रदेश सरकारले कोभिड अस्पतालका रुपमा तोकेको यो अस्पतालमा ५० बेड छ, तर सबैजसो बेड भरिएको अस्पतालका निर्देशक विकास गौचन बताउँछन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख खिमबहादुर खड्काले भन्छन्, ‘अब सबै आआफ्नै तवरबाट सचेत हुनुपर्ने बेला भइसक्यो, आज बिहान पनि सिडिओ सा’बलाई निषेधाज्ञा कडाइ गर्न सुझाव दिएका छौं ।’

उनका अनुसार हाल ४७ जना संक्रमित उपचाररत छन् । ‘५० बेडको भनिए पनि १/२ बेड खाली नै राख्नुपर्ने हुन्छ । कुनै बेडमा अक्सिजन नचल्नेलगायतको समस्या आउनसक्छ,’ उनले भने, ‘यसरी हेर्दा अस्पताल संक्रमितले भरिएकै हो ।’

डा‍. गौचनका अनुसार उपचाररत संक्रमितहरु प्रायः गम्भीर प्रकृतिका छन् । अघिल्लो पटकभन्दा यस पटक गम्भीर बिरामीको संख्या धेरै भएको उनले जानकारी दिए । ‘प्रायः सबैजना अक्सिजन दिनुपर्ने अवस्थामा हुनुहुन्छ । गम्भीर बिरामी धेरै आएका छन्,’ उनले भने ।

कास्कीमा जिल्ला प्रशासन कार्यालयले असार १४ गते निषेधाज्ञा खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको थियो ।

त्यसबेला कास्की जिल्लाभर सक्रिय संक्रमितको संख्या जम्मा ५ सय ३२ थियो । निषेधाज्ञा खुकुलो भएको एक महिनामै सक्रिय संक्रमितको संख्या झन्डै ४ गुणाले बढेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयक अनुसार मंगलबारसम्म कास्कीमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार १९ पुगेको छ ।

निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो एक हप्तामा संक्रमितसँगै मृतकको संख्या पनि बढेको छ । एक हप्ताको अवधिमा कास्कीमा मात्र २३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा मंगलबारमात्रै ८ ज्यान जना संक्रमितले ज्यान गुमाएका छन्, जसमध्ये ४ जना कास्कीका छन् ।

निषेधाज्ञा कडाइ गर्न सुझाव 

प्रदेश स्वास्थ्य निर्देशनालयले निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्दा संक्रमणदर बढेको बताएको छ ।

निर्देशनालय प्रमुख खिमबहादुर खड्काले निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्ड पालना नभएको र अब कडाइ गरिनुपर्ने बताए । ‘अब सबै आआफ्नै तवरबाट सचेत हुनुपर्ने बेला भइसक्यो,’ निर्देशक खड्काले भने, ‘आज बिहान पनि सिडिओ सा’बलाई निषेधाज्ञा कडाइ गर्न सुझाव दिएका छौं ।’

खड्काले सार्वजनिक स्थान र यातायातहरुमा भिडभाड नघटेको र सामान्य मापदण्ड पनि पालना नगरिएकाले समस्या भएको बताए । ‘गाडीमा त्यस्तै भिड छ, बाटोबाटोमा त्यस्तै भिड छ । अब आफैं सचेत हुनुपर्ने बेला भइसक्यो,’ उनले भने ।

संक्रमण बढेको भन्दै बागलुङ जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुने गरी अत्यावश्यक बाहेक बैंक तथा वित्तीय संस्था नखुल्ने गरी निषेधाज्ञामा कडाइ गरेको छ । प्रशासनले बिहीबारदेखि भदौ ५ गतेसम्म तोकिएका विश्वाविद्यालयका परीक्षा र स्वास्थ्य क्षेत्रबाहेक सम्पूर्ण क्षेत्र बन्द गर्न सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment