Comments Add Comment

*डोल्पा सदरमुकाम बाहिरका सबै खाद्य डिपो रित्तै

जनप्रतिनिधि भन्छन् : जनताले कहिले पाउने चामल र नुन ?

२६ साउन, जाजरकोट । कर्णाली प्रदेशले उपलब्ध गराएको कामका लागि खाद्यान्न कार्यक्रमको चामल डोल्पाका चार स्थानीय तहमध्ये केही स्थानमा अझैसम्म पुग्न सकेको छैन । अन्य स्थानमा भने तोकिएको कोटामध्ये आधामात्र पुगेको छ । आव २०७७÷७८ मा विकास निर्माणका काम गरेबापत गरिब तथा दलित समुदायलाई वितरण गर्नुपर्ने चामल जगदुल्ला गाउँपालिकामा अहिलेसम्म नपुगेको जनाइएको छ ।

उक्त कार्यका लागि प्रदेश सरकारले स्थानीय तहलाई बजेट पठाएकामा गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खातामा जम्मा गरेर चामल माग गरेका थिए । लिमिटेडले समयमै ढुवानी नगर्दा काम गरेवापत पाउनुपर्ने चामल उक्त गाउँपालिकाका सर्वसाधारणले अहिलेसम्म पाउन नसकेका हुन् । प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीका अनुसार काम गरिसकेका जनताले चामल मागिरहे पनि अहिलेसम्म आएको छैन ।

सोही कामकालागि त्रिपुरासुन्दरी नगरपालिकामा चामल पुगे पनि अहिले थन्क्याएर राखिएको प्रमुख प्रशासकीय अधिकृत पित्रृभक्त गिरीले बताए । आर्थिक वर्षको अन्तमा प्रदेशले बजेट पठाएका कारण काम दिन नसकेर सो चामल बन्द कोठामा थन्क्याइएको र आव २०७८-७९ मा काम गराएपछि मात्र वितरण गरिने उनको भनाइ थियो ।

त्यस्तै मुड्केचुला गाउँपालिकामा ७८० क्वीन्टल चामलमध्ये ७० प्रतिशत मात्र पुगेको अध्यक्ष दत्तबहादुर शाहीले बताए । बाँकी चामल छिटो ल्याउन ताकेता गर्दा पनि अहिलेसम्म आइनपुगेको उनको भनाइ थियोकाइके गाउँपालिकाले भने चामल खरीद गरेर वितरण गरिसकेको छ ।

गाउँपालिका अध्यक्ष अङ्गत राना मगरकानुसार एक हजार २३ घरधुरीलाई ३७२ क्वीन्टल चामलमध्ये दलितलाई ६० केजी र निम्नवर्गलाई ३० केजीका दरले वितरण गरिएको थियो ।

प्रदेशले जगदुल्लाका लागि ५५० काइकेका लागि ३७२ त्रिपुरासुन्दरीका लागि एक हजार ११५ र मुड्केचुला गाउँपालिकाका लागि ७८० क्वीन्टलको कोटा निर्धारण गरेको थियो ।

सदरमुकाम बाहिरका सबै खाद्य डिपो रित्तै

डोल्पाको दुनै, जुफालबाहेक लिमिटेडका सबै खाद्य डिपो रित्ता छन् । नयाँ चामल आउन समय लाग्ने र पुरानो सकिएकाले डिपोहरु रित्तो हुँदा सर्वसाधारण समस्यामा छन् ।

नयाँ चामल ढुवानीका लागि ठेक्का भइसकेकाले आउँदो दशैँसम्म ढुवानी हुने लिमिटेडका डोल्पा शाखाप्रमुख कमलराज पाण्डेले बताए । फोक्सुण्डोका लागि तोकिएको एक हजार ५०० क्वीन्टल चामलमध्ये गत पुस र माघमा केही वितरण गरिएको थियो । हिमपातका कारण रोकिएको बाँकी चामल अहिले पठाइएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।

आयोडिनयुक्त नुन अभाव

सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन नपाइएपछि डोल्पाका ६ स्थानीय तहका सर्वसाधारण ढिके नुन नै प्रयोग गर्न बाध्य छन् । मुड्केचुलाको सर्मी, जगदुल्लाको काइगाउँ, त्रिपुरासुन्दरीको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिञ्जेमा आयोडिनयुक्त नुनको डिपो छ ।

तिञ्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाटै नुन वितरण हुने गरेको साल्टटेड्रिङ कर्पोरेशनका शाखाप्रमुख प्रकाशबहादुर धामीले जानकारी दिए। वर्षेनी सदरमुकाम दुनै र जुफालबाट मात्र आयोडिनयुक्त नुन वितरण हुँदै आएको छ ।

सदरमुकाम बाहिरका मुड्केचुला गाउँपालिका १५० क्वीन्टल नुन लिमिटेडले नै खरीद तथा धुवानी गरेर वितरण गरे पनि अन्य ठाउँमा भने अभाव छ । यस आर्थिक वर्षका लागि भने नुनको टेण्डर आह्वान भइसकेको उनले बताए ।

(*समाचार शीर्षकमा डोल्पा हनुपर्नेमा जाजरकोट भएकाले सच्याइएको छ । सं.) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment