२५ भदौ, सुर्खेत । भेरी कोरिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । नलगाड नगरपालिका–११ दम्काका रतनबहादुर दमाई खोलाले बगाएर बेपत्ता भएका हुन् ।
ताक्सुगाडमा वर्षायाममा सर्वसाधारणले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता छ । पुल निर्माणका लागि पटक–पटक आग्रह गरिएपनि सम्बन्धित निकायले चासो नदिँदा दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।
केही दिनअघि मात्रै ताक्सुगाड खोलाले एक जनालाई बगाएको थियो । उनलाई बीच खोलाबाट उद्धार गरिएको थियो । अहिले फेरि एक जना बेपत्ता भएपछि स्थानीयले तत्काल सुरक्षित आवतजावतको व्यवस्था गर्न माग गरेका छन् ।
ताक्सुगाडमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि निर्माण अघि बढ्न सकेको छैन । साउन २९ गते आएको बाढीले अस्थायी कजवे र झोलुङ्गे पुलसमेत बगाएपछि स्थानीयको आवतजावत थप जोखिमपूर्ण बनेको थियो ।
भेरी कोरिडोरको महत्वपूर्ण खण्डमा पर्ने ताक्सुगाड हुँदै जाजरकोटबाट डोल्पासम्म यातायात सञ्चालन हुन्छ । स्थानीयले अब पनि पुल निर्माणमा ढिलाइ भए यस्ता घटना दोहोरिनसक्ने भन्दै सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया 4