१५ असोज, सुर्खेत । जाजरकोटवासीले गत आर्थिक वर्षमा जडीबुटी संकलनबाट २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा जडीबुटी संकलन तथा निकासीबाट स्थानीय समुदायले २९ करोडभन्दा बढी आम्दानी गरेका हुन् ।
गत वर्ष जिल्लाबाट ३७ प्रजातिका जडीबुटी निकासी भएका थिए । जसले ग्रामीण क्षेत्रका बासिन्दाका लागि आम्दानी र जीविकोपार्जनको बाटो खोलेको छ ।
डिभिजन वन अधिकृत दीपेश केसीका अनुसार जिल्लाबाट टिमुर, रिठ्ठा, पदमचाल, पाषाणवेद, रातो च्याउ, झ्याउ, विषफेज, धुपीको पातलगायत ३७ प्रजातिका जडीबुटी निकासी भएका छन् ।
टिमुर मात्रै एक लाख ९८ हजार ७५९ किलो निकासी भएको छ । यसमध्ये निजी आवादीबाट एक लाख तीन हजार ५५५ किलो, सामुदायिक वनबाट ५३ हजार १७ किलो र सरकारद्वारा व्यवस्थित वन क्षेत्रबाट ४२ हजार ६८७ किलो निकासी भएको कार्यालयले जनाएको छ ।
संकलन भएको स्थानमा टिमुरको मूल्य प्रतिकिलो ५५० देखि ६५० रुपैयाँसम्म पर्ने गरेको छ । औसत प्रतिकिलो ६०० रुपैयाँका दरले हिसाब गर्दा टिमुरबाट मात्रै स्थानीयले करिब १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

यस्तै, झ्याउ संकलनबाट पनि ३ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको कार्यालयले जनाएको छ ।
६० प्रतिशत भू–भाग वन
जाजरकोटको कुल भू–भागको ६०.१८ प्रतिशत वन क्षेत्रले ढाकेको छ । वन, वन्यजन्तु, जडीबुटी र जैविक विविधतामा धनी जिल्लामा जडीबुटी संकलन ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको डिभिजन वन कार्यालयको निष्कर्ष छ ।
‘जडीबुटी र यसको संकलनले स्थानीय समुदायलाई आम्दानी, रोजगारी, जीविकोपार्जन र सामुदायिक विकासमा टेवा पुर्याएको छ,’ डिभिजन वन अधिकृत केसीले बताए ।
गत आर्थिक वर्षमा जिल्लाबाट जडीबुटी मात्रै नभई वन पैदावारबाट समेत सरकार र समुदायले आम्दानी गरेका छन् ।
डिभिजन वन कार्यालयका अनुसार उक्त अवधिमा एक करोड तीन लाख ५८ हजार ३५४ रुपैयाँ राजस्व, ६८ लाख १६ हजार १६५ रुपैयाँ मूल्य अभिवृद्धि कर तथा सामुदायिक वनबाट २ करोड ६५ लाख ७० हजार ९३४ रुपैयाँ आम्दानी भएको छ ।
अतिक्रमण र वन्यजन्तु द्वन्द्व चुनौती
जडीबुटीबाट ठूलो आम्दानी भइरहेपनि वन डढेलो, अतिक्रमण, मानव–वन्यजन्तु द्वन्द्व तथा अवैध वन पैदावार चोरी–निकासी वन संरक्षणका प्रमुख चुनौतीका रूपमा देखिएका छन् ।
कार्यालयका अनुसार जिल्लामा हालसम्म एक हजार २२५ दशमलव ४५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा ३८ वटा सामुदायिक वनमा ५५ पटक वन डढेलो लागेको थियो ।

सुरक्षा निकाय, वन उपभोक्ता, स्थानीय तह र समुदायको सहभागितामा डढेलो नियन्त्रण गरिएको कार्यालयले जनाएको छ ।
बाँदर, भालु, जंगली बँदेल र चितुवाबाट बालीनाली, पशुधन तथा मानवीय क्षति हुने गरेको छ । गत आर्थिक वर्षमा वन्यजन्तुबाट पीडितलाई ३ लाख ६० हजार रुपैयाँ राहत वितरण गरिएको छ ।
जडीबुटीको उत्पादन विस्तारका लागि निजी आवादी, सामुदायिक वन, कबुलियती वन तथा सार्वजनिक जग्गाको करिब ४० हेक्टर क्षेत्रमा टिमुर, रिठ्ठा, सिसौ, खयर, बोधिचित्त, तेजपात, ओखर, चिउरी र बोझोलगायत करिब ५५ हजार बिरुवा रोपिएको छ ।
डिभिजन वन कार्यालय परिसरमा रहेको बहुवर्षीय नर्सरीमा करिब ५० हजार एकवर्षीय तथा बहुवर्षीय बिरुवा उत्पादन गरिएको र करिब ११ हजार बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4