Comments Add Comment

दुई वर्षका लागि मेस्सी पीएसजीमा अनुबन्ध

२७ साउन, काठमाडौं । अर्जेन्टिनी फुटबल टिमका कप्तान तथा सुपर स्टार लिओनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा (पीएसजी)मा अनुबन्धित भएका छन् ।

मेसीले मंगलबार फ्रेन्च लिग वान क्लब पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका छन् । स्पानिस क्लब बार्सिलोना छाडेको दुई दिनपछि नै फ्रेन्च क्लबले ३४ वर्षीय मेस्सीलाई पेरिसमा भित्र्याउँदै दुई वर्षका लागि अनुबन्ध गरेको हो ।

यस्तै मेस्सीका लागि तेस्रो वर्ष पनि पेरिसमै बस्ने विकल्प खुल्ला गरिएको छ । पीएसजीले मेस्सीलाई फ्रि एजेन्टका रुपमा अनुबन्ध गरेको हो ।

पीएसजी युरोपियन च्याम्पियन्स लिग जित्ने महत्वकांक्षाका साथ पछिल्लो वर्ष स्टार खेलाडीहरु अनुबन्ध गरिरहेको छ । ला लिगाको आर्थिक नियम बाधक बन्दा मेस्सीले दुई दिनअघि मात्र आफ्नो प्रिय क्लब बार्सिलोना छाड्नुपरेको थियो ।

६ पटकका बालोन डे ओर अवार्ड विजेतालाई अनुबन्ध गरेपछि पीएसजीमा अब मेस्सीसंगै नेमार र किलिएन एमबाप्पेको अट्याकिङ लाइन हुनेछ ।

यसअघि नै पीएसजीले अच्रफ हाकिमीलाईलाई इन्टरबाट अनुबन्ध गरेको थियो भने सर्जियो रामोस, जर्जिनिओ विजनाल्डम र जियानलुजी डोनारुम्बालाई फ्रि एजेन्टको रुपमा अनुब्धन गरेको थियो ।

बार्सिलोनामा दुई दशक भन्दा बढी समय बिताएर पीएसजी पुगेका मेसीले नयाँ क्लबमा करियर शुरु गर्न आफू आतुर रहेको बताएका छन् ।

‘पेरिसमा मेरो करियरको नयाँ अध्ययाय सुरु गर्न म उत्साहित छु । यस क्लबको सपना मेरो महत्वाकांक्षासँग मेल खाने खालका छन् ।,’ मेस्सीले सम्झौतापछि भनेका छन् ।

मेस्सीले पीएसजीको खेलाडी र स्टाफको क्षमताको बारेमा आफू जानकार रहेको पनि बताए । ‘म उनीहरुसँगै मिलेर क्लबमा राम्रो गर्न प्रतिबद्ध छु ।’ मेस्सीले पार्क डे प्रिन्सको पिचमा जान समेत आफू आतुर रहेको बताए ।

त्यस्तै पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले मेस्सीलाई आफ्नो भित्र्याउन पाउँदा निकै खुसी लागेको बताएका छन् । ‘लिओ मेस्सीले पीएसजीलाई छनोट गरेकोमा म खुशी छु र उनलाई पेरिसमा हाम्रो परिवारमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ,’ नासेरले भने ।

मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने भएका छन् ।

मेस्सी १३ वर्षको उमेरमै सन् २००० मा बार्सिलोनामा आबद्ध भएका थिए । उनले ला मासियाको युथ एकेडेमी हुँदै २००३ मा सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले क्याटलान क्लबका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । उनी बार्सिलोना र ला लिगाका कीर्तिमानी गोलकर्ता समेत हुन् । ६ पटका बालोन डे ओर अवार्ड विजेता मेस्सीले बार्सिलोनामा १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित कुल ३५ वटा उपाधि जितेका थिए ।

फोटो : पीएसजीको ट्विटरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment