
२७ साउन, काठमाडौं । जर्मनीमा एक बेलायती नागरिक रुसको लागि जासुसी गरेको आरोपमा पक्राउ परेका छन् । जर्मनीका संघीय अभियोजकहरुले दिएको जानकारीअनुसार डेभिड एस नाम गरेका बेलायती नागरिक पक्राउ परेका हुन् । उनी जर्मनीको बर्लिनस्थित बेलायती दूतावासमा काम गर्दै आएका थिए ।
उनीमाथि रुसी गुप्तचर संस्थालाई पैसा लिएर कागजातहरु दिने गरेको आरोप लगाइएको छ । उनलाई मंगलबार पक्राउ गरिएको हो भने उनको घर र काम गर्ने स्थानमा छापा मारिएको छ ।
जर्मनीको विदेशमन्त्रालयका प्रवक्ताले यो मुद्दालाई निकै गम्भीरताका साथमा लिएको बताएका छन् । आफ्नो भूमिमा निकट सम्बन्ध रहेका मुलुकका नागरिकले जासुसी गर्नु स्वीकार्य नरहेको उनको भनाइ छ । बेलायत र जर्मनीले गरेको संयुक्त अनुसन्धानको क्रममा ती नागरिक पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
बेलायतको प्रहरीले जर्मनीमा आफ्ना ५७ वर्षीय नागरिक पक्राउ परेको पुष्टि गरेको छ । पछिल्लो केही वर्षका ठूला घटनाको कारण जर्मनी र बेलायतको रुससँगको सम्बन्ध चिसिएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4