+

श्रीलंकाका पूर्व कप्तान दिनेश चण्डिमाल भैरहवा ग्लाडिएटर्समा अनुबन्ध

२०७८ साउन  २८ गते १७:२४ २०७८ साउन २८ गते १७:२४
श्रीलंकाका पूर्व कप्तान दिनेश चण्डिमाल भैरहवा ग्लाडिएटर्समा अनुबन्ध

२८ साउन, काठमाडौं । श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान दिनेश चण्डिमालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाले बिहीबार विज्ञप्ति जारी गर्दै चण्डिमाललाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जानकारी गराएको छ । चण्डिमाल भैरहवाले ईपीएलका लागि अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी हुन् ।

‘हामीले यसपटक पहिलो विदेशी खेलाडीका रुपमा श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान तथा विश्वकप च्याम्पियन दिनेश चण्डिमाललाई अनुबन्ध गरेका छौं । चण्डिमाल श्रीलंकाको टी–२० आई टोली कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । सन् २०१३ मा चण्डिमालले बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टी–२० आईमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए,’ भैरहवाले विज्ञप्तिमा भनेको छ ।

सन् २०१४ को टी–२० विश्वकप उपाधि श्रीलंकाले जित्दा चण्डिमाल पनि उक्त टोलीका सदस्य थिए । श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । चण्डिमाल ओडीआईमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन् । उनले २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध ओडीआईमा कप्तानी गरेका थिए ।

चण्डिमालले श्रीलंकाबाट ६२ टेस्ट, १४९ ओडीआई र ५७ टी–२० आई खेल खेलेका छन् । टी–२० आईमा चण्डिमालले ५ अर्धशतक सहित कुल ८६८ रन जोडेका छन् । चण्डिमालले राजस्थान रोयल्सबाट आईपीएल खेलिसकेका छन् । ३१ वर्षीय विकेटकिपर ब्याट्सम्यान चण्डिमाल श्रीलंकाको वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन् । चण्डिमालले श्रीलंका टेस्ट, ओडीआई र टी–२० तीनै शैलीका खेलमा कप्तानी गरेका छन् ।

ईपीएलको लागि भैरहवा ग्ल्याडियटर्सले आन्तरिक तयारी शुरु गरिसकेको समेत जनाएको छ । ‘कोरोना संक्रमणका कारण यसअघि प्रतियोगिता सर्न पुग्दा हामीले प्रशिक्षक नियुक्ति, ट्यालेन्ट हन्ट लगायत विभिन्न कार्यक्रम पूरा गरिसकेका थियौं ।’

यस्तै भैरहवाले प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुवुदु दसानायकेलाई जिम्मेवारी दिएको जनाएको छ । ‘कोरोनाका कारण प्रतियोगिता केहीपछि सरे पनि हामीले प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रमुख प्रशिक्षक पुबुदु दसानायकेलाई नै जिम्मेवारीमा निरन्तरता दिएका छौं ।’

टोलीमा यसअघि झैं कप्तान शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिशंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा रहेका छन् ।

हाल अन्य विदेशी खेलाडीको नाम छलफलकै क्रममा रहेकाले केही दिनमा नै त्यसबारे जानकारी दिने भैरहवाले जनाएको छ । यसअघि नै काठमाडौं किंग्स ११ ले पाकिस्तानका शाहिद अफ्रिकी र चितवन टाइगर्सले पाकिस्तानकै डानिश अजिजलाई अनुबन्ध गरिसकेको छ ।

पाकिस्तानका सोएब मल्लिक र वेष्ट इन्डिजका कार्लोस ब्रेथवेइटले पनि ईपीएल खेल्ने आयोजकले बताएको छ । तर उनीहरुले कुन टिमबाट खेल्ने घोषणा हुन बाँकी छ ।

चौथो संस्करणको ईपीएल असोज ९ देखि २३ सम्म  कीर्तिपुरस्थित टीयू मैदानमा हुँदैछ ।

एभरेष्ट प्रिमियर लिग दिनेश चण्डिमाल भैरहवा ग्लाडिएटर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय