Comments Add Comment

अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि, ठगिए उपभोक्ता

२९ साउन, काठमाडौं । उत्पादकहरुले एकलौटी मूल्य निर्धारण गरेपछि उपभोक्ताहरु अण्डाको मूल्यमा ठगिन पुगेका छन् । दुई महिनाको अवधिमा अण्डाको उपभोक्ता मूल्य झण्डै दोब्बरले वृद्धि भएको छ तर मूल्य बढ्नुको कारणबारे सरकार र नियामक निकाय मौन छन् ।

२० दिनअघि प्रतिगोटा १२ रुपैयाँमा बिक्री भइरहेको अण्डाको मूल्य अहिले खुद्रा बजारमा २० रुपैयाँ पुगेको छ । कुखुराको अण्डाको मूल्य हालसम्मकै उच्च भएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । तीन साताअघि प्रतिक्रेट ३६५ रुपैयाँमा कारोबार भएको अण्डाको मूल्य अहिले ४२० रुपैयाँ पुगेको संघका अध्यक्ष शिवराम केसीले बताए ।

सवारी साधन सहज उपलब्ध भएको ठाउँमा प्रतिगोटा १६ रुपैयाँसम्म अण्डाको खरिद बिक्री हुनपर्ने भए पनि २० रुपैयाँसम्ममा कारोबार भएको पाइएको उनले बताए । कोरोनाका कारण विगतमा भन्दा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको उनले बताए ।

निश्चित व्यवसायीहरु मिलेर बजारमा अण्डाको मूल्य तोकिनु अवैध र कार्टेलिङ भए पनि सरकारी निकाय मौन बस्दा उपभोक्ता मर्कामा परेको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना बताउँछन्

‘कोरोनाका कारण पौष्टिक आहार बढाउन उपभोक्ताले अण्डाको खपत बढाएको र यहीबेला लागत पनि बढ्दा मूल्य उच्च भएको छ,’ अध्यक्ष केसीले भने । अण्डा उत्पादनका लागि गरिने लगानीको ७५ प्रतिशत हिस्सा दानामा खर्च हुने र दानाको भाउ बढेर छोइनसक्नु भएको उनको दाबी छ ।

अण्डाको संघले तोकेको मूल्य भन्दा पाँच रुपैयाँ कम रकम किसानले पाउने भएकाले मूल्य बढेर किसानलाई फाइदा पुगेको संघको दाबी छ । तर दानाको मूल्यकै कारण अण्डाको मूल्य बढेको कुरा झुट भएको नेपाल दाना उद्योग संघले जनाएको छ । पछिल्लो तीन महिना अवधिमा अण्डाको भाउलाई असर गर्नेगरी दानाको मूल्य नबढेको संघका वरिष्ठ उपाध्यक्ष शंकरप्रसाद कँडेलले बताए ।

बजारमा बढी मात्रामा बिक्री हुने ५० किलो दानाको बिक्री मूल्य तीन हजार सात सय रुपैयाँ रहेको र उक्त मूल्य पछिल्लो तीन महिनादेखि प्राय स्थिर रहेको उनले बताए । ‘दानाको भाउ बढेका कारण अण्डाको मूल्य बढेको भन्नु गलत हो, यो दुई कुरामा कुनै साइनो छैन,’ वरिष्ठ उपाध्यक्ष कंडेलले भने । अघिल्लो वर्षको तुलानामा दानाको कच्चा पदार्थको मूल्य बढेको सत्य भएपनि पछिल्लो समय ह्वात्तै बढेको अण्डाको कारण दाना हुँदै नभएको उनको भनाइ छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार काठमाडौं उपत्यका वितरकले एक महिनामा अण्डाको मूल्य एक बाक्सामा ८ सय रुपैयाँसम्मले बढाएका छन् । एक महिनाअघि ठूलो अण्डा प्रतिबाक्सा दुई हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेकोमा अहिले कम्तिमा तीन हजार ५० रुपैयाँदेखि ३३ सय रुपैयाँसम्म पुगेको अण्डा व्यवसायी कबिन्द्र श्रेष्ठले बताए ।

‘मैले बेच्ने अण्डा एक बाक्सामा साढे पाँच सय रुपैयाँले बढेको छ, बजारमा ३३ सय रुपैयाँ प्रतिकार्टुनमा पनि अण्डा बिक्री गरिएको पाइएको छ,’ व्यवसायी श्रेष्ठले भने । खुद्रामा प्रतिगोटा कम्तीमा १५ रुपैयाँदेखि बढीमा २० रुपैयाँसम्मा अण्डा बिक्री भएको उनले बताए । असारमा पहिरोले राजमार्ग अबरुद्ध छ भन्दै होलसेलले मूल्य बढाएको र त्यसपछि भने बिना कारण नै अण्डाको मूल्य बढिरहेको श्रेष्ठको भनाइ छ ।

निश्चित व्यवसायीहरु मिलेर बजारमा अण्डाको मूल्य तोकिनु अवैध र कार्टेलिङ भए पनि सरकारी निकाय मौन बस्दा उपभोक्ता मर्कामा परेको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना बताउँछन् । साउनको महिनामा बजारमा अण्डाको खपत कम हुने समयमै व्यवसायीहरु मिलेर कार्टेलिङ गरेको उनले दाबी गरे ।

कुखुरा, दाना, चल्ला र अण्डा उत्पादन गर्ने र बजार मूल्य तोक्ने समूह एउटा भएको र ती सरकारबाट संरक्षित रहेको तिमिल्सिनाको आरोप छ । ‘उत्पादन भएको अण्डा कोल्ड स्टोरमा लुकाउने र बजारमा अभाव सृजना गरेर मूल्य बढाउने धन्दा चलेको छ, यसमा सरकारले अनुगमन गर्नुपर्छ,’ उनले भने । कुखुराजन्य उत्पादनको बजार मूल्य तोक्ने काम निश्चित व्यापारीले गर्नु गलत भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नवीन ढुंगाना

ट्रेन्डिङ

Advertisment